लेखा व्यवसायीहरूको नियमक संंस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट काउन्सिल “आइक्यान”को नवौं परिषद निर्वाचनको मिति नजिकिँदै गर्दा लेखा व्यवसायीहरूबिच चुनावी रौनक बढेर गएको छ ।
यही भाद्र १८ गते हुन लागेको यस निर्वाचनमा चार्टर्ड एकाउन्टेन्टबाट १० र दर्तावाला लेखापरीक्षक (रजिष्टर्ड अडिटर–आरए)बाट चार जना पार्षद निर्वाचित हुनेछन। “आईक्यान”मा बाँकी तीन जना सरकारले मनोनित गर्नेछ ।
सीएतर्फबाट उम्मेद्वारी दिने १६ जनामा युद्धराज ओली, पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, विनयप्रकाश श्रेष्ठ, क्षेत्रगोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल कयाल, सतीषचन्द्र लाल, सुजनकुमार काफ्ले, प्रविणकुमार झा, जयनारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती र सन्तोष काफ्ले छन् ।
आरएबाट उम्मेदवारी दिने नौ जनामा भोलानाथ पाठक, रमोद ढुंगाना, बद्रीनाथ भट्टराई, पोषराज नेपाल, केशबहादुर केसी, शंकर ज्ञवाली, राजेन्द्रकुमार श्रेष्ठ, हेमराज पौडेल र हमालय खत्री छन् । आरएबाट कुल नौ जना उम्मेदवार भए पनि अडान (अडिटर्स एशोसियशन अफ नेपाल)ले भने आफ्ना आधिकारिक उम्मेदवारको रुपमा पाठक, नेपाल, ज्ञवाली र केसीलाई क्षेत्रगतरुपमा अघि सारेको छ ।
आईक्यानको निर्वाचनका लागि काठमाडौं उपत्यका बाहिरबाट हुलाकमार्फत र काठमाडौं उपत्यकाकाभित्र भने भौतिक उपस्थितिमा नै भदौ १८ गते प्रत्यक्ष निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा आरएबाट पार्षदका प्रत्यासी भोलानाथ पाठक आफ्नो उम्मेदवारीबारे भन्छ्न”
अहिले एक व्यक्ति एक पेशा मुख्य समस्याको रुपमा आएको छ । अहिले अडिट गर्नुपर्ने फर्म र कम्पनीको संख्या ११ लाखभन्दा बढि भइसकेको छ । जम्मा छ सयको हाराहारीमा सीएहरूले नवीकरण गरेका छन, सात हजारमध्ये जम्मा ३१ सयले नवीकरण गरेको अवस्था छ । लेखा व्यवसायीहरू पेशाबाट बहिर्गमन हुँदै जाने यस्तो परिस्थिति कायम रह्यो भने अडिट नै नहुने अवस्था आउने हो कि ? भन्ने भइसक्यो । यसमा आईक्यानसहित सबै सम्वद्ध पक्ष गम्भीर हुनुपर्ने भइसकेको छ ।
आरएहरूको संख्या धेरै भए पनि आईक्यानमा थोरै प्रतिनिधिले प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ । एकै संस्थामा रहेका सदस्यहरूमा समान व्यवहार हुनुपर्ने र समान मताधिकार हुनुपर्नेमा त्यो हुन सकेको छैन। एकले अर्कोको अस्तित्व स्वीकार गर्न गाह्रो मान्ने प्रवृत्तिका बीच पनि हामीले खुम्चिएर भए पनि आईक्यानमा आफ्नो प्रतिनिधित्व स्वीकार गर्दै आएका छौं । तर मुलुकभरीका फर्म तथा कम्पनीहरूको अडिट गर्नुपर्ने ठूलो दायित्व निर्वाह गर्न हामी सक्रिय रहँदै आएका छौं । आरएहरूको हकअधिकारको लागि अडानले खेलेको भूमिका र संघर्षका कारण केही महत्वपूर्ण उपलब्धी हासिल भए पनि समान हकअधिकारका लागि अझै काम गर्न बाँकी छ ।
त्यस्तै, अहिले सीए पढ्न नेपाली युवाहरू भारत र तेस्रो मुलुक धाउनुपर्ने बाध्यता छ । नेपालमा सीए शिक्षा र सोबाट उत्पादन हुने जनशक्ति न्यून छ । यसले गर्दा मुलुकको धेरै दक्ष जनशक्ति र अर्बौ रुपियाँ विदेशिने गरेको कुरामा सरकारको खासै ध्यान गएको छैन। देशका विकट र असहज स्थानमा अडिट सेवा सहज छैन । त्यो कुरामा पनि सरकारको ध्यान पुगेको छैन । यस्तो परिस्थितिमा नेपालमै सीए शिक्षालाई सहज बनाउने र आरएहरूको बर्गोन्नती गर्नुपर्ने आवश्यकता छ । यिनै कुराहरूमा आरएहरूको भूमिका प्रभावकारी बनाउन मैले उम्मेदवारी दिएको हो र मलाई विश्वास गर्दै अडानले आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ ।
मेरो भूमिकाको कुरा गर्दा अडानले विगतको माग र अहिलेको घोषणापत्रमा सेमटिएका विषयहरूको कार्यान्वयन, लेखामान तथा लेखापरीक्षणमान बोर्डले तयार गरेको लेखा तथा लेखापरीक्षणमानहरू बारे सदस्यहरूलाई भाषागत सहजता गर्ने, आरएहरूको व्यवसायिक सशक्तिकरण गर्ने, उनीहरूलाई प्रविधिमैत्री बनाउने, लेखापरीक्षणका क्रममा वर्गका कारण लेखा व्यवसाय गर्न बन्चित हुनुपर्ने ऐन नियमहरू संशोधन गर्न लाग्ने छु । अरु पनि कुरा छन् जुन मैले प्रतिवद्धता भनेर प्रकाशित पनि गरेको छु ।”
(पाठक विगत २५ बर्षदेखि लेखा व्यवसाय गर्दै आएका छन । उनले ठूला कर्पोरेट हाउसदेखि साना संस्थाहरूसम्मको हरहिसाब हेर्ने र लेखापरीक्षण गर्ने काम गर्दै आएका छन । वित्तीय कारोबार गर्ने संस्थाको लामो समयदेखि नेतृत्वसमेत गर्दै आएका पाठक “अडान”को काठमाडौं उपत्यकाको तीन कार्यकाल अध्यक्ष भएका थिए। उनले एक कार्यकाल उपाध्यक्ष भएर समेत काम गरेका थिए । अडानको केन्द्रीय सदस्य हुँदै अहिले उपमहासचिव रहेका पाठक अनुभवी र दक्ष लेखा व्यवसायीको रुपमा चिनिन्छन। )
प्रतिक्रिया