एमाले उपाध्यक्ष तथा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एमालेलाई विभाजन गराउने शक्ति एकजुट भएर लागेको भन्दै प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले केही शक्तिले नेकपा एमालेलाई कमजोर बनाउन खोजिरहेको बताउनुभयो ।
उहाँले कमजोर बनाउन खोज्ने शक्तिका विरुद्ध एमाले एकजुट हुन नसक्दा आजको अवस्था आएको धारणा पनि राख्नुभयो । ‘हामी एकजुट भएको भए आज यो विचलित हुनुपर्ने अवस्था आउने थिएन’, शाक्यले भन्नुभयो । उहाँले अहिलेको अवस्थाबाट पार्टीले केही नोक्सानी व्यहोरेको भन्दै नेतृत्वभित्रको बेमेलको कारण पार्टी एक हुन नसकेको बताउनु भयो । आफूभित्र लडेर पार्टीलाई फाइदा नहुने शाक्यले बताउनुभयो। पार्टी एकताको लागि १० बुँदेको पूर्णपालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एमाले बलियो भयो भने मात्र मुलुकको लोकतन्त्र र संघीयता जोगिने शाक्यको भनाइ छ । ‘एमाले कमजोर भएको कारण धेरै शक्तिको चलखेल बढेको छ, जसले गर्दा एकपछि अर्को नसोचेको घटना घट्दैछ’, शाक्यले भन्नुभयो । उहाँले वाग्मती प्रदेशका पार्टी र मुलुकलाई जोगाउन एकतावद्ध भएर अगाडि बढ्ने निर्णय गरिएको जानकारी पनि दिनुभयो । ‘वाग्मती एउटा नयाँ उचाईमा पुगेको छ, त्यो भनेको एकतावद्ध वाग्मती, एकतावद्ध एमाले हो’, शाक्यले भन्नुभयो ।
पार्टी जोगाउनको लागि वाग्मती प्रदेशमा डोरमणि पौडेलले गरेको त्याग सम्मानयोग्य भएको पनि शाक्यले बताउनुभयो । पौडेलले मुख्यमन्त्री पद छाड्न एकइञ्च पनि अप्ठेरो नमानेको जानकारी उहाँले गराउनु भएको हो ।
प्रतिक्रिया