दिलमाया शाही, जुम्ला                                                  जुम्लाकी बिजमाया जैसी १२ वर्षीया छोरी र १४ वर्षीया छोरा सँगै खुल्ला खेतमा बनाइएको सानो काठको टहरामा रात बिताउदै आईरहेकी छिन्।विभिन्न ठाउँमा महिला बलात्कार भएको समचार सुन्दा चिन्ताले ऊनीलाई निद्रा लाग्दैन। “घर बनाउने मसँग कुनै उपाय छैन” ऊनी दुखी हुँदै भन्छिन। उनको रातमा ओतलाग्ने टहरा भित्रै सानो टिनको चुलो छ। त्यसैमा सानो खाट अटेको छ। सुत्नको लागि चाहिने आवश्यक लत्ता कपडा प्रयाप्त छैनन्। महिलाको पीडा प्रति समाज अझै उदार भएको देखिदैन।

गुठीचौर गाउँपालिका–५ फोइगाँउकी बिजमाया जैसी पीडित महिला मध्यकी एक पीडित हुन। उनका एक छोरा र दुइ छोरी छन्। श्रीमान ११ वर्ष देखि बेपत्ता छन्। संघीयता आएपछि महिला तथा बालबालिका कार्यालय खारेज भयो तर प्रत्येक स्थानीय उपप्रमुखको नेतृत्वमा न्यायिक समिति छ। अधिकांश न्यायिक समितिका संयोजक पनि महिला नै छन यद्यपि महिलाहरुनै न्याय पाउनबाट बन्चित छ्न। महिलाहरुका हक हित र अधिकारका लागि निरन्तर काम गर्दै आएका महिला अधिकारकर्मी पनि छन्।तर बिडम्बना गुठीचौर –५ की बिजमाया आफ्नो पीडामा साथ दिने कोही नपाएर भौतारीरहेकी छिन। महिलाका अधिकारका लागि लड्ने अधिकारकर्मीको नजर त्यहाँ पुग्न नसक्नु दु:खद कुरा हो। महिला अधिकारकर्मीको मात्रै होइन त्यहाँ संघीयताको पनि नजर पुगेको छैन। जहाँ अप्ठेरोमा परेका महिलालाई आश्रय हुँदैन भने के संघीयता? के को समृद्धी? यी सबै नाराको कुनै अर्थ छैन ।

कसरी बन्यो काठको टहरा?

पुरानो घर गत पुस महिनाको हिमपातले भत्कियो। घर बनाएको जग्गा उनको माइतीले दिएका थिए । साँझ बिहानको छाक टार्न गाह्रो पर्ने उनलाई नयाँ घर बनाउने इच्छा नाजुक आर्थिक अवस्थाले गर्दा पूरा हुन सकिरहेको छैन। उनले भनिन”भत्केको घरको काठले काठको सानो टहरा बनाएर टाले।” कुनै पनि छोरीलाई दुःख पर्यो भने माइत जान्छन्। आफ्नासँग दुःख बाँड्नछन्। तर जैसीको दुःख बाँडने थलो पनि छैन।
२० वर्ष अगाडि फोइगाँउका धर्म दत्त जैसीसँग बिहे गरेर आएकी उनी श्रीमान सँगै हुँदा पनि अरुकै ज्याला मजदुरी गरेर जिविका चलाउँथिन। पहिला देखि नै घरको अवस्था नाजुक थियो। त्यसै माथि तीन भाइको अंश बन्डा भयो। अहिले उनीसँग सम्पत्तिको नाममा एक भारी खेत र एक हलको लेकाली जग्गा छ। त्यो बाहेक अरु केही छनै।

यो अवस्था कसरी आयो?

११ वर्ष भन्दा पहिले बिजमायाका श्रीमान धर्मदत्त डोल्पा जिल्लामा व्यापार गर्न गएर दुइ वर्ष डोल्पामै बसे। त्यसपछि उनी भाइतिहारको अगिल्लो दिनमा घर आए। तिहार मनाए। भोली पल्ट खुद्रा सामान किनेर ल्याएर गाउँमै व्यापार गर्छु भनि नेपालगन्ज गएका थिए।
त्यस त्यसपछि न आफू आए न त केही खवर नै आयो। “म श्रीमान फर्केर आउने आशामा तिनवाटा बच्चा पालेर बसे” उनले भनिन “अबत शरीर पनि कमजोर हुँदै गयो। काम गरेर छोरा छोरी पाल्न सक्ने अवस्था छैन। त्यसले गुहार माग्न तँपाइकोमा आए।”

उनी ११ वर्षसम्म पति फर्केर आउने आशामै पर्खिरहेको बताउँछिन मैले रुने ठाउँ पनि पाइँन। स-साना छोराछोरीको अगाडि रुन मिलेन” उनले भनिन। माईतिको अवस्था पनि उस्तै छ। रुनलाई कहाँ जाउ ?’
बिजमाया ३९ वर्षकी भइन। लाउ खाउ भन्ने उमेरमै यो पीडाले उनको अनुहारका छाला चाउरिसकेका छ्न । म मेरो छोरा र छोरीका लागि केही गर्नुपर्छ भन्ने सोचाइमा बाँचेकी छु। मेरो पीडा देखेर पनि समाज हाँसिरहेको छ। यहि समाजका केही मान्छेको पाँउ परेर पनि बच्चाको छाकटार्ने गरेकी छु,’ उनले लामो सुस्केरा हाल्दै बोलिन।
गाउँमा स्थानीय सरकार आएपछि श्रीमानको खोजतलास गरि दिन भनि प्रहरीमा निवेदन दिए पनि आफ्नो अगाडि पछाडि लाग्ने मान्छे नभएपछि प्रहरीले वास्ता नगरेको उनको गुनासो छ।

गरिबलाई नचिन्ने संघीयताको के काम?

स्थानीय निकायमा निर्वाचन भएको चार वर्ष पुरा भएर ५औं वर्ष लागिसकेको छ। तर गरिब दुःखीले संघीयताको महशुस गर्न नसक्नु बिडम्बना हो। हामी जस्ता घरबार विहिनलाई पुनर्वास गराउलान भन्ने सोचेको थिए। “संघीयताले धनिलाई झन धनि र गरिबलाई झन् गरिब बनाउने रहेछ। मैले बिताइरहेको यो कालो रात कसैले बुझेन।’

काम गरेको पैसा पनि समयमै दिदैनन्

उनीसँग गाउँमा आउने विकासको पनि तितो अनुभव छ। विकास ल्याउनेहरु काम त गराउँछन् तर पैसा दिने बेला आज/भोली भन्दै महिनौँ दिन कुराउँछन्। घरमा खाने चामल हुँदैन। महिला भनेर सम्मान कामको सम्मान ज्याला दिदैनन्। ज्याला समेत पुरुषलाई बढी र महिलालाई कम छ।दिनभरको कामले थकित शरीर खाना पछिको आराम गर्नेबेला वर्षा सुरु हुन्छ। रातमा पनि उही दुःख। काठको टहराभित्र पानी पस्छ। शरीर त चिसो हुन्छ नै मन पनि उसै चिसिन्छ।
दिनभर काम गरेर ल्याएको खाना खाएर आनन्दले सुत्ने ठाउँ छैन। वरिपरिका छिमेकीले ठुला ठुला घर बनाएका छन्। बच्चाले ’आमा हामी ठुलो घर कहिले बनाउने?’ भनेर सोध्दा उनको छाती चिरिन्छ। “छोरा छोरीले मर्न दिर्दैनन , गरिबीले बाँच्न दिदैन”

कसरी होला दैनिकी सहज?

जेठी छोरी १८ वर्षकै उमेरमा बिहे गरेर गइसकेकी छन्। अब उनीसँग एक छोरा र एक छोरी छन्। छोराछोरीले खाना,लाउन नपाउलानकी भन्ने पिर बढिरहेको उनले बताइन्।
रातीमा ढुक्कले निदाउन पाउने घर र छोरा छोरी पढाई दिने व्यवस्था भए सहज हुने थियो। उनले भनिन”श्रीमान आउने त आशा पनि मरिसकेको छ। सरकारी स्कुलमा पढाउन पनि कापी कलम र लत्ता कपडा चाहिन्छ। मैले अरुको बाउर गरेको पैसाले चामल खाने पुग्दैन। अब त पहिलेको जस्तो काम पनी गर्न सक्दिन। शरिर दुखेर थला पर्ने बेला भइसक्यो।”

एक त महिला त्यसै माथी टहराको बास

रातीमा ओतलाग्ने टहरा भित्रै सानो टिनको चुलो छ । त्यसैमा सानो खाट अटेको छ । उनी संग सुत्नको लागी चाहिने आबश्यक लत्ता कपडापनि छैनन । दिनभरको कामले थकित शरिर खाना पछिको आराम अनि निद्रा आउला भन्ने बेलाबाट वर्षा सुरु हुन्छ । जब काठको टहराबाट पानीका छिट्का भित्र आउन थाल्छन तब उनको मुटुको धड्कन बढ्न थाल्छ । ऊनी जेनतेन दिनभर काम गरि ल्याएको खाना खाएर आनन्दले सुत्न समेत पाउँदिनन।