जाजरकोट– मौसममा देखिएको परिवर्तनसँगै जाजरकोटलगायत तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ ।
विगत एक सातादेखि लगातारको वर्षाका कारण मछाइनास्थित रिपिटर टावरको सोलार चार्ज नहुँदा जिल्लाको फोन सञ्चार सेवा अवरुद्ध भएको हो ।
जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । तर सबै टावरले दिनभर काम गरेको छैन ।
जिल्लाको मुख्य रिपीटर टावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार सेवा अवरुद्ध भएको छ ।
जिल्लाको मछाइनास्थित रिपीटर टावर भएर नै जिल्लाको छ स्थानीय तह, रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको रातामाटा र डोल्पाको कालिकास्थित टावरहरुमा सञ्चार हुने गर्छ । तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि ती स्थानका सञ्चार अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपीन्द्र अधिकारीले बताए । टावर भएको ठाउँमा घाम लागेमा मात्र टावर सञ्चालनमा आउने उनले जानकारी दिए ।
प्रतिक्रिया