उज्ज्वल कडरिया ।                                                             “घुम्दै फिर्दै रुम्जाटार” यो नेपाली उखानलाई  रामेछाप एमाले नेता शान्तिप्रसाद पौडेलले चरितार्थ गर्नुभयो भन्दा कुनै अनौठो नहुने राजनैतिक वातावरण रामेछापमा बनेको देखिन्छ। बर्षायाममा खोलामा पौडेलले हातेदुलो खेले ,उनको भाग्य हातमा मन्त्रीनै पर्यो।पौडेलले यसरी हातेदुलो खेलेका थिए।

१. शान्ति पौडेल माधव समुहमा सङ्लग्न
२. नेकपा एमाले बिरुद्ध पौडेलले गरे भाषण
३.एमाले रामेछापमा पौडेल आफैंले फर्किएको सूचना
४. आफू एमालेमा फर्किएको पत्रकारहरुले चलाएको प्रोपोगन्डा भएको पौडेलको स्पष्टीकरण
५.पौडेल एमालेमा फर्किए मन्त्री बनाउने तत्कालीन मन्त्री कैलाश ढुङ्गेलको घोषणा
६. आफू एमालेमै आएको पौडेलको जानकारी
७.बाग्मती प्रदेशको मन्त्री

एमालेभित्र बिभाजनको रेखा कोरिन सुरुगरिसकेको थियो। विगत केही महिनादेखि एमाले फुट्ला- नफुट्ला गरेर समय व्यतीत भईरहेको थियो।यसक्रममा देशभरी एमाले नेताकार्यकर्ताले ताण्डव देखाईरहेका थिए।यो प्रभावले रामेछाप एमालेपनि अछुतो रहन सकेन।

एमाले रामेछापका तत्कालीन जिल्ला ईन्चार्ज र अध्यक्ष शान्ति पौडेल लगाएतले  एमाले कठिन समयमा गुज्रिएको अबस्थामा एमाले छोडेको घोषणा गरे । यो क्रममा ऊनीहरुलाई कार्यकर्ताले साथ दिएको देखिएन। शान्तिप्रसाद पौडेललाई रामेछापका नेताहरूले कठपुतली बनाए। कैले पौडेलले माधव नेपाल समुहको पगारी भिरेभने कैले पुन संस्थापनमै फर्किएको नौटङ्की देखाए। केही हप्ता पहिले एक टेलिभिजनमा पौडेलले अन्तर्वार्ता दिएर आफू माधव समुहमै रहेको स्पष्टीकरण दिदै पत्रकारहरुले आफुबारे अफवाह फैलाएको आरोप समेत लगाए। अहिले पौडेलको बारेमा कुनै आधिकारिक जानकारी बिनानै पुन नेकपा एमालेमै फर्किएको खबर हौवा नहोला भनेर भन्न सक्ने अवस्था उनले एमाले संकटमा परेको बेला देखाएको यता न उताको ब्यवहारले गर्दा छैन।

एमालेलाई शनिले छोएको समयमा एमाले जस्तो जिम्मेवार पार्टीको अध्यक्षको हैसियतले पौडेलले पार्टी कोलागी थप योगदान पुर्याउनु पर्ने बेला पार्टीनै अस्त व्यस्त हुने गरि उनी कठपुतलीझैँ अरुको इसारामा कैले यता उफ्रे कैले उता।

उनको यो उफ्राईले एमाले रामेछापलाई समस्याभित्र मात्र धकेल्दिएन , नेतृत्वमा हुनुपर्ने गुण नभई एमाले अध्यक्ष भएका रहेछ्न भनेर समेत प्रमाणित आफैले गरिदिए।
पौडेल नेतृत्वको लागी सक्षम छैनन भनेर एमालेमा देखिएको बिवादमा उनले पार्टीमा खेलेको भुमिकाबाट गर्न सकिन्छ ।

नत उनले पार्टी छोडेर जादा कार्यकर्ता लिएर जान सके नत नेकपा एकीकृत समाजवादी छोडेर आउदा कार्यकर्ता लिएर आउननै सके। उनी मात्र एता र उता गरिरहे।

गाविस अध्यक्ष समेत भएका पौडेलले अहिले आफ्नै वडाका वडा अध्यक्षसमेतलाई समाजवादीमै छोडेर आफू लुरुक्क एमालेमा फर्किएका छन।एक जना वडा अध्यक्ष त्यो पनि आफ्नै वडाको समेत उनले एमालेमा आउदा ल्याउन नसकी एक्लै आए।

एमालेमा दसबुद्दे सहमति लागू भएको अबस्थामा उनी एमाले रामेछापका पुन अध्यक्ष बन्नेछ्न। पौडेलको यस्तो दुर्दशामा पौडेललाई कसरी जिल्लाका एमाले कार्यकर्ताले  नेता स्वीकार गर्लान ? रामेछाप एमालेमा प्रश्न जन्मिएको छ।

पौडेल तत्कालीन समयमा माधव नेपाल समुहमा गएका बेला एमाले रामेछापको जिल्ला कमिटी व्यापक हेरफेर गरिएको थियो। युवा नेतृत्वलाई एमाले जिल्ला कमिटीको बागडोर केन्द्रिय कमिटीले सुम्पियो।युवा नेतृत्वलाई वहर (न नारिएको बाछा) संज्ञा समेत दिईयो।तर यो छोटो समयमा तिनै वहरहरुले नारिएका गोरुभन्दा उच्चतम ढंगले पार्टीको कार्यसम्पादन गरे।

पौडेलले रामेछाप एमालेका युवा नेतृत्वले गरेको काम गर्न सक्छ्न कि सक्दैनन त्यो समयले बताउला तर पौडेलले अध्यक्ष हुँदा गरेको कार्यसम्पादन र उनको चन्चले गतिविधि हेर्दा उनी सुध्रीने संभावना कमै देखिन्छ ।

जे होस रामेछापले पौडेललाई मन्त्रीको रुपमा पाउनु सुखद कुरा हो तर जिल्लाको पार्टी उचित तरिकाले नचलाएको उहाँको इतिहासले देखाउछ। प्रश्न उठन सक्छ के एक जिल्लाको एक पार्टी संचालन गर्ने नेतृत्व नभएको नेताले सिङ्गै वाग्मती प्रदेश सरकारको मन्त्रालय  चलाउन सक्लानत ?