काठमाडौँ । निजगढस्थित होटेल तारा इनबाट नक्कली नोटसहित ५ जना पक्राउ परेका छन् । काठमाडौंबाट गएको व्युरोको टोलीले होटेल ताराबाट नक्कली नोटको कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । पाचजनामध्ये ३ जनालाई होटेलबाटै र थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नम्बर–२ बाट शनिबार दिउँसो ३ बजे पक्राउ गरेको हो ।

होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा व्युरोको टोली काठमाडौंबाट सिधै निजगढ पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कलैया र इलाका प्रहरी कार्यालयमासमेत कुनै जानकारी नदिइ नेपाल प्रहरीको ‘स्पेशल टास्क फोर्स’ को साथमा ठूलो संख्यामाको व्युरो टोलीले उच्च सर्तकताका साथ बिहान ११ बजे होटलमा ‘रेड’ हानेको थियो ।

छापामारी गर्ने क्रममा व्युरोका सुरक्षाकर्मीले इलाका प्रहरी कार्यालयका प्रहरीलाई समेत होटलभित्र पस्न दिएको थिएन । सर्वसाधारणलाई होटलअगाडि सडकमा हिडडुल गर्न समेत रोक लगाएका थिए ।

व्यूरोको टोलीले छापामारी थालेपछि मात्रै इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले घटनाबारे जानकारी पाएका हुन् । ‘घटनाबारे शुरुमा केही कुरा पनि जानकारी थिएन, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले भने । ‘गाउँले र सर्वसाधारणले आफूलाई फोन गरेर सोधखोज गर्न थालेपछि मात्रै थाहा भयो ।’

इलाका प्रहरी कार्यालयको टोली शनिबार दिउँसो १२ बजेपछि मात्रै होटलमा पुगेको थियो । होटलबाट नियन्त्रणमा लिएका ३ जनालाई साथमा लिएर गुजरातर्फ लागेको व्युरोको टोलीले रकमसहित थप २ जनालाई नियन्त्रणमा लिएको हो।
२०७८ भदौ २७ गते प्रकाशित