काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यलाई बोलाएको बैठकमा कृष्णप्रसाद सिटौला पक्षका शिव हुमागाईं पनि सहभागी भएका छन्।

पुनः पार्टी सभापपितमा उम्मेद्‌वारी दिने तयारी गरेका देउवाले आफूनिकटका केन्द्रीय सदस्यसँगको भेटघाटलाई तीब्र बनाएका हुन्। यसैसन्दर्भमा आइतबार सभापति देउवाले बागमती प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका हुन्।

बैठक गोप्य रहेको जानकारी गराउँदै देउवानिकट केन्द्रीय सदस्यलाई कसैलाई थाहा नदिइ आउन भनिएको थियो। यसअघि सभापति देउवाले प्रदेश १ तथा प्रदेश २ का केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।

शनिबार देउवानिवास बूढानीलकण्ठमा बसेको बैठकमा दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ। छलफलमा सहभागीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए।
कांग्रेस सभापति देउवाले उपसभापति विमलेन्द्र निधिसँग समेत छलफल गरिसकेका छन्। दुई नेताको छलफला निधीले संस्थापन पक्षबाट यसपटक आफू सभापति उठ्न पाउनुपर्ने बताएका थिए।