पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले ७५ वर्ष माथिका संस्थाका सदस्यहरुलाई चाडपर्व खर्च दिने निर्णय गर्दै चाडपर्व खर्च बापत जनही २ हजारका दरले रकम प्रदान गरेको छ ।
संस्थाले १४ औं बार्षिक साधारण सभामा यो वर्ष ८ जना जेष्ठ नागरिक सदस्यलाई चाडवाड खर्च दिएको र यो कार्यक्रमलाई हरेक बर्ष निरन्तरता दिने संस्थाकी ब्यवस्थापक राधा कडरियाले बताउनु भएको छ ।
संस्थाले स्थानीय स्तरमा रक्तदान, सरसफाई, सामाजिक क्रियाकलाप, खेलकुद, मठमन्दिरको जगेर्ना जस्ता विविध क्षेत्रमा आफ्नो भूमिका निभाउँदै आएको संस्थाका अध्यक्ष भोलानाथ पाठकले बताउनु भएको छ । राष्ट्रिय स्तरमा सहकारी अभियन्ताहरुलाई नियमित रुपमा सम्मान गर्दै आएको अध्यक्ष पाठकको भनाई छ ।
संस्थाले सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्ग निर्देशन अनुरुप गत भाद्र २० गतेबाट सदस्यहरुका लागि वार्षिक प्रतिवेदन वितरण तथा सुझाव संकलन र उपस्थिति पुस्तिका खुल्ला गरेको थियो । संस्थाले विद्युतीय माध्यमबाट साधारण सभा गरेको थियो।
अध्यक्ष पाठकले साधारण सभामा आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोभिड १९ का कारण एकैपटक सबै सदस्यहरु भेला भएर साधारण सभा गर्न असम्भव देखिएकोले सदस्यहरुको घरघरमा वार्षिक प्रतिवेदन पुर्याईएको र उनीहरुबाट आएको सल्लाह सुझावका आधारमा साधारणसभा सम्पन्न गरिएको अध्यक्ष पाठकले बताउनु भएको थियो।
सहकारीमा मात्र सानो रकमबाट संस्थाको मालिक बन्ने अवसर प्राप्त हुने र सहकारीले कुनै वर्ग, जाति, धर्मका आधारमा विभेद नगरी समान व्यवहार गर्ने हुँदा मुलुकमा सबैका लागि सहकारी नै उत्तम विकल्प भएको अध्यक्ष पाठको दावी थियो।
संस्थाको कारोबार र सदस्यता वृद्धि हुँदै गएकाले कार्यक्षेत्र विस्तार र सेवा केन्द्र सञ्चालनका लागि प्रदेश रजिष्ट्रार कार्यालयमा गत वर्ष नै प्रक्रिया अगाडि बढाएको भएपनि त्यहाँबाट स्वीकृति नआइसकेकाले सेवा विस्तारमा कठिनाई भएको पाठकले सभामा जानकारी दिनु भएको थियो।
सदस्यहरुलाई उत्पादनमा जोडिन आग्रह गर्दै उनले भने ‘संस्थाले सरल र सुलभ ब्याजदरमा ऋण प्रवाह गर्छ । महिला उद्यमशीलता विकास गर्न संस्थाले १० प्रतिशत कै हाराहारीमा ऋण दिन्छ । यसको उपयोग गर्न म महिला सदस्यहरुलाई आग्रह गर्छु ।’ प्रति सदस्य १ हजार शेयर पुँजीबाट शुरु भएको संस्थाको गत असार मसान्तमा उपलब्धी मूलक प्रगती भएको उनले बताए
संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक विवरण प्रस्तुतगर्दै संस्थाको शेयर पुँजी ६ करोड ६७ लाख, बचत संकलन ४८ करोड ७ लाख र ऋण लगानी ५३ करोड ५६ लाखपुगेको जानकारी सदस्यलाई दिनुभएको थियोे ।
संस्थाले त्यस अवधिमा २ करोड ५५ लाख ४१ हजार खुद मुनाफा गरेको र सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित भएको जानकारी बिमलीले दिनुभएको थियो।
त्यसै संस्थाले सदस्यहरुबाट संस्थागत विकास कोष वापत लिएको रकम मध्ये यो वर्ष १० प्रतिशत र आगामीवर्ष १० प्रतिशत गरी २० प्रतिशत फिर्ता गर्ने भएको छ ।
संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सुशील प्रसाईंले प्रतिवेदन पेश गर्दै जोखिमविश्लेषण गरी नाफा बाँडफाँडको व्यवस्था मिलाउन र आन्तरिक लेखापरीक्षण विभाग स्थापना गरी सदस्यको हितमाहुने गरी कार्यान्वय गर्दै जान सुझाव दिनु भएको छ।
सभा समापन समारोहमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सातै प्रदेशमध्ये बागमती प्रदेशका धेरै सहकारीमा समस्या देखिएकाले त्यसलाई समाधान गरी सुशासनमा ल्याउनु अहिलेको आवश्यकता रहेको मन्तव्य राख्नुभएको थियो।
कतिपय संस्थामा आएको समस्याका कारण त्यसको असर राम्रोसँग चलेका सहकारी संस्थामा पनि पर्ने भएकाले त्यसतर्फ सचेत हुँदै अभियानसँग सहकार्य गरेर अगाडि बढ्न उहाँको सुझाव थियो ।
कुनै पनि व्यक्ति सहकारीमा आवद्ध हुनु पूर्वको अवस्था र भइसके पछि उसको जीवनस्तरमा कत्तिको सुधार आयो त्यसले नै संस्थाको सफलता मापन गर्ने उप्रेतीले दाबी गर्नुभएको थियोे ।
संस्थाले सदस्यहरुमा व्यवसायिकता, उद्यमशीलता, नेतृत्व विकास र स्तरोन्नतिमा खेलेको भूमिकाले नै संस्थाको क्रियाशीलता देखिने उप्रेतीको भनाई थियो।
कुनै व्यक्ति एउटा बचत ऋण सहकारीमा सदस्य छ भने ऊ एउटै कार्यक्षेत्र भित्रको एकै प्रकृतिको संस्थाको सदस्य बन्न आवश्यक नरहेको भन्दै उनले ‘यदि संस्थाको गतिविधि र व्यवहार प्रति असन्तुष्टि भए सञ्चालक समिति र व्यवस्थापनसँग आफ्ना कुरा राख्नुपर्छ ।
सदस्यले सम्पूर्ण कारोबार एउटै संस्थामा गर्नु पर्छ र संस्थाले पनि सदस्यको आर्थिक तथा सामाजिक आवश्यकतालाई जसरी भएपनि पूरा गर्ने प्रयास गर्नुपर्छ ।’
पाँचतारा पल्र्स, वित्तीय सूचांक, सुशासन र अन्य गतिविधिका हिसाब सबल संस्था बनेकाले आफ्नो कार्यक्षेत्र भित्रका अरु संस्थाहरुलाई पनि सबल, सक्षम र सुशासनयुक्त बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने जानकारी दिईएको थियो ।
त्यसैगरी कार्यक्रमका कास्कूनका अध्यक्ष दिपक पनेरुले पछिल्लो समयमा विशेषतः बचत ऋण सहकारीमा समस्या बढेको मन्तव्य राख्नुभएको थियो। सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप नचल्ने एवं सहकारीको बोर्ड झुण्ड्याउने काम र व्यवहार भने फरक गर्ने संस्थाहरुका कारण सहकारीको छवि धुमिलिएको पनेरुको भनाई थियो ।
राजनीतिक पहुँचका भरमा चलेका सहकारीमा नै बढी समस्या आएको भन्दै उनले सहकारी क्षेत्रको विकृतिलाई न्यूनिकरण गरी सदस्यमुखी दृष्टिकोणका साथ अभियानलाई अघि बढाउनुपर्ने बताउनु भयो । संस्थाका उपाध्यक्ष विजय मल्लले स्वागत मन्तब्य राख्नुको साथै सचिव लोचनहरि प्रसाईंले कार्यक्रमको सञ्चालन गर्नुभएको थियोे ।
प्रतिक्रिया