टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानका निवर्तमान अध्यक्ष देविलाल भण्डारीले, जापानको गुन्मामा सडक दुर्घटनामा परि निधन भएका हृदयेश जिशीको परिवारलाई बिमा रकम बापत प्राप्त भएको ४९ लाख रकम ९६ हजार ३ सय ५० येन हिनामिना गरेको मृतकका भाई मोहन जीले आरोप लगाएका छन् ।

शनिबार राती अनलाईन माध्यमबाट पत्रकार सम्मेलन गर्दै मृतक जिसीका भाइ मोहन जिसीले आफ्नो दाजुको मृत्यु बापत् जापानको बिमा कम्पनीले क्षतिपूर्ति स्वरुप प्रदान गरेको रकमको चरम हिनामिना गरेको बताएका हुन् । भाई मोहनका अनुसार, सन २०१८, मे १६ तारिख, जापानी वकिल ईसिखाले १९,०३१,६८८ (एक करोड नब्बे लाख एकतिस हजार ६ सय अठासी येन नेपालमा मृतक जिसीको पिता कुलबाहदुर जिसीको नाममा राष्ट्र बाणिज्य बैंकको खातामा ट्रान्सफर गरिदिएका थिए । जुन मृतकको परिवारले प्राप्त गर्नुपर्नेभन्दा निकै थोरै रकम हो ।

उक्त घटनामा बिमा कम्पनीबाट कुल २ करोड ९८ लाख ३८ हजार ९ सय बैसठ्ठी येन प्राप्त भएको विवरण समेत प्रस्तुत गरेका मोहनले,जापानमा सक्रिय रहेको नेपाली साझा समाज जापानका अध्यक्ष लगायतका व्यक्तिहरुको सहयोगमा छुट्टै जापानी वकिल लगाएर, वास्तविक रुपमा प्राप्त रकमबारे पत्ता लगाएको बताएका थिए । यसरी प्राप्त रकमबाट वकिल खर्च,यातायात खर्च,शव व्यवस्थापन खर्च,अस्पत्ताल खर्च लगायतका शिर्षकहरुमा भण्डारीले कुल ७१ लाख १० हजार ९ सय २४ येन खर्च देखाएको बताईएको छ ।

भण्डारीले जापानमा प्राप्त भएको पुरा रकम त दिएनन् नै उल्टै यातायात लगायतका खर्चहरु भन्दै १३ लाख नेपाली रुपैँया लिएको परिवारको दावी छ । यस्तो छ परिवारले पत्रकार सम्मेलनमा पेश गरेका विवरणहरु, जसले भण्डारीले आर्थिक हिनामिना गरेको प्रष्ट पार्दछ ।

आरोपित भण्डारीले यस अघि गत मे ३० तारिकका दिन जापानमा पत्रकार सम्मेलन गरि सत्य/ तथ्य प्रस्तुत गर्छु भनेका थिए । तर पुर्ण विवरणहरु प्रस्तुत गर्न नसकेपछि, पत्रकार सम्मेलन बिचैमा बिना निष्कर्ष टुंगिएको थियो । त्यस पश्चात यस घटनाबारे भण्डारीले कुनै औपचारिक जानकारी गराएकै छैनन् । उनि भने एनआरएनए जापानको तत्कालिन कार्यसमितिबाट निलम्बन परेका थिए ।

आरोपित भण्डारीले यो केशलाई नउचाल्न र सामसुम पार्नका लागि गैडाकोटका नगर प्रमुख, वडा अध्यक्ष, आफ्ना निजी वकिल र एनआरएनएका विभिन्न व्यक्तिहरुबाट बारम्बार दबाब दिदै आएको समेत मृतकका भाइ मोहनले पत्रकार सम्मेलनमा बताए । उनले कुनैपनि हालतमा न्याय प्राप्ती र भ्रष्टाचारका विरुद्ध लडिरहने र आफ्नो यो लडाइले यस्ता घटनामा फेरी नेपालीहरु ठगिनु नपरोस् भन्ने चाहना रहेको बताए । नेपाल न्युज पोस्टबाट