काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार बिहान सर्वदलीय बैठक आह्वान गरेका छन् ।
देउवाको आह्वानमा हुन लागेको बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । संसदमा जारी गतिरोध अन्त्यको प्रयासस्वरुप प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट कारबाही गरी पत्र पठाउँदा पनि सभामुख अग्नि सापकोटाले निर्णय कार्यान्वयन गरी सूचना टाँस नगरेको भन्दै एमालेले गएको भदौ २३ देखि प्रतिनिधिसभा र राष्ट्रियसभामा निरन्तर अवरोध गर्दै आएको छ।

सभामुखले कारबाही नगर्ने र तिनै १४ सांसदको हस्ताक्षरलाई मान्यता दिएर निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको भन्दै एमाले आक्रोशित रहेको छ।

यसविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा मुद्दासमेत हाले पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।