काठमाडौं- कर्णालीका प्रदेश सभा सदस्यको भ्याकेट निवेदन सुनुवाइका लागि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ।

कर्णाली प्रदेशका चार सांसदमाथि नेकपा (एमाले)ले गरेको कारवाहीमा सर्वोच्चले रोक लगाएपछि एमालेले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको थियो।

सर्वोच्च अदाललते जेठ २७ कर्णाली प्रदेश सभाका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवं पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटिलाई नहुने ठहर गरिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न आदेश दिएको थियो। उनीहरूलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन भनिएको थियो।
प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई कारबाही गरेका थिए। यी चारैजना सांसद माधवकुमार नेपालपक्षका हुन्।