काठमाडौं- नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले देश गम्भीर संकटतर्फ धकेलिएको बताएको छ।
प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरिएको गठबन्धनले बताएको छ।
यसले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ देश नै गम्भीर संकटतर्फ धकेलिएको मंगलबार संयुक्त विज्ञप्तिमार्फत् उल्लेख गरेका छन्।
स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको उनीहरूले बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानुनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्ष रुपमा काम नगरी कानुन र न्यायसँग असंगत व्यवहार प्रदर्शन गर्नु चिन्ताको विषय भनेका छन्।
‘यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पुर्याउँछ। यस्ता गलत गतिविधिहरु अविलम्ब बन्द गरिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘देश र जनताको सर्वोपरी हित, संविधान, लोकतन्त्र र कानुनी शासनको संरक्षण र सम्बर्द्धनको लागि आ-आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न हामी सम्पूर्ण जिम्मेवार राजनीतिक दल, नेता, कार्यकर्ता तथा विभिन्न तह, वर्ग, समुदाय र पेशाका जनमुदायमा हार्दिक आव्हान गर्दछौं।’
प्रधानमन्त्रीले स्वेच्छाचारी रुपमा प्रतिनिधि सभाको दुई-दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंग लगायत राज्यका निकायहरुको दुरुपयोग गरेको उनीहरूको भनाइ छ।
‘भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलन तथा कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न असक्षमता एवम् बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद् व्यवस्थापनमा पूर्वतयारीको अभाव जस्ता कार्यसमेतले सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपन देखिएको छ’, विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया