रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले रामेछापले  कार्तिक ६ गते जिल्लाका सवै वडा कमिटी र ९ गते सवै पालिका कमिटीको अधिवेशन गर्दै छ । बिहीबार मन्थलीमा रहेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी एमालेले वडा तथा पालिकाको अधिवेशन गर्ने तयारी पुरा भएको प्रेस मिटमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिकामा कार्तिक ६ गते शनिबार र ६२ वटा वडामा कार्तिक ९ गते मंगलबार अधिवेशन गर्ने बताउनुभयो ।

दोरम्बा गाउँपालिका वडा नं ६ र ७ मा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भईसकेको छ ।

पत्रकार सम्मेलनमा एमाले रामेछापका उपाध्यक्ष प्रेम बहादुर तामाङले वडा तथा पालिका अधिवेशनको तयारी पुरा भएको र अधिवेशनलाई कम खर्चमा र बृहत सहभागिता मुलक बनाउने गरी पार्टी लागेको बताउनुभएको छ ।

यसअघि गत भदौ २७ गते आइतबार एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ गते माओवादी केन्द्रसँगको एकता घोषणापूर्वको समयमा फर्काएर सवै सांगठनिक संरचनाहरुलाई क्रियाशिल बनाउने र वडा तथा पालिकाहरुको अधिवेशन गर्ने निर्णय गरेको थियो । रामेछापमा दुई नगरपालिका र ६ गाउँपालिकाका ६४ वटा वडाहरु छन् । जिल्लामा अहिले एमालेको ११ हजार भन्दा बढी क्रियाशिल सदस्य रहेको एमाले रामेछापले जनाएको छ । तामाकोसी अनलाइनबाट (फोटो रामबाबु घिमिरे)