९ असार, काठमाडाैँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले दिएको आदेश आफ्नै नजीरविपरितको रहेको बताउनुभएको छ । उहाँले आदेशको कपीनै सामाजिक सञ्जालमा सेयर गर्दै २०७४ असोज र २०७८ असारमा भएको सर्वोच्चको फैसला बाझिएको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘२०७४ असाेज र २०७८ असारका बीच श्री सर्वाेच्च अदालतले गरेकाे फैसलामा देखिएकाे याे के हाे ? आफ्नै नजीर र व्याख्याविपरित रहेकाे हिजोकाे फैसला विराेधाभाषपूर्ण र आश्चर्यजनक रहेकाे छ। संविधान र कानुनकाे व्याख्यामा यस्ताे परस्परविराेधी अभ्यासले कहाँ पु-याउने हाेला ?’

थापाले सर्वोच्चको आदेश एकदिन अघिनै प्राप्त सूचना भनेर पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको विषयमा यो सेटिङ हो कि के हो भनेर प्रश्न गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘प्रचण्डले एकदिनअघि गरेकाे भाषण र सर्वाेच्चकाे एकदिन पछिकाे फैसला हुबहु किन मिलेकाे हाेला ? याे सेटिङ हाे कि के हाे ?’

उहाँले सर्वाेच्च अदालत आफ्नाे प्रतिष्ठामा कायम रहाेस् भन्ने शुभकामना दिँदै भन्नुभएको छ, ‘मन्त्री बनाउने, बजेट वक्तव्यकाे संशाेधन/सम्पादन वा कुनै बुँदा खारेज गर्ने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वाेच्चकै हाे र ?’