२९ कार्तिक, काठमाडौं। वडा र पालिका अधिवेशनसँगै अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट गरेर एमाले अध्यक्ष केपी ओलीले दशौँ महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय नेतृत्वको कोसिस गरेका छन् । तर, पार्टीमा अध्यक्षपछिको दोस्रो वरीयतामा रहेको वरिष्ठ उपाध्यक्षका लागि तीन शक्तिशाली नेताले दाबेदारी पेस गरेका छन् । एमालेले विधान महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी रहने गरी दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिने विधान पारित गरेको छ ।
महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र पार्टी विभाजनमा ओलीलाई साथ दिएका पूर्वमाओवादी समूहका नेता रामबहादुर थापा बादल वरिष्ठ उपाध्यक्षका आकांक्षी देखिएका छन् । अहिले पोखरेल, नेम्वाङ र थापा तीनै नेता ओलीनिकट छन् । ओली समूहमै पनि नेम्वाङ र थापाका भिन्दाभिन्दै समीकरण पनि छन् । एमालेले विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष अध्यक्षपछिको दोस्रो वरीयता हुने र त्यसपछि चार उपाध्यक्ष रहने विधान पारित गरेको छ । नयाँ पत्रिकासँगको कुराकानीमा एमाले संसदीय दलका उपनेता नेम्वाङले पार्टीको आसन्न दशौँ महाधिवेशनमा अध्यक्षपछिको दोस्रो वरीयताको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने संकेत गरेका छन् ।
‘हाम्रा अध्यक्ष केपी ओलीले एउटा परिस्थितिमा क्लास दोहोर्याउँदिनँ भन्नुभएको थियो, तर अहिले जुन ढंगले एमालेमाथि घेराबन्दी भइरहेको छ, यस्तो अवस्थामा पार्टी र मुलुकका लागि तपाईंको नेतृत्व फेरि आवश्यक छ भनेर हामीले पुनः अध्यक्षमा निर्वाचित हुनुहोस् भनेर उहाँलाई आग्रह गरेका छौँ । र उहाँ नै नेतृत्वमा आउनुपर्छ भन्ने टुंगोमै पुगिसकेका छौँ,’ नेम्वाङले भने, ‘त्यसैले अध्यक्षबारे अन्यथा सोच्ने कुरा भएन, त्यसभन्दा बाहेकका पदमा विचार गर्ने हो, मलाई धेरै साथीहरूले तपाईंले अहिलेसम्म जुन भूमिका र जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ, त्यस हिसाबले उपयुक्त पदमा दाबी गर्नुस् भन्ने सुझाव दिइरहनुभएको छ ।’
स्थायी समिति सदस्य रहेका नेम्वाङ संसदीय दलमा ओलीपछिको दोस्रो वरीयतामा छन् । ओलीले सरकारको नेतृत्व गर्दा र त्यसपछि प्रतिपक्षको भूमिकामा रहँदा उनको अनुपस्थितिमा संसदीय दलमा नेम्वाङले नै समग्र नेतृत्व गर्दै आएका छन् । महाधिवेशन नजिकिँदै गर्दा महासचिवका दाबेदार विष्णु पौडेल र दशबुँदे सहमतिका पक्षधर नेताहरूस“ग नेम्वाङले संवाद बढाएका छन् ।
विधानअनुसार तेस्रोपटक महासचिव बन्न नसक्ने भएकाले पोखरेलका लागि वरिष्ठ उपाध्यक्ष बाध्यकारी दाबेदारी बनेको छ । दुईपटक महासचिव भइसकेका ईश्वर पोखरेलले पनि निकटस्थहरूलाई आफूले पनि वरिष्ठ उपाध्यक्षमै दाबी गर्ने बताउँदै आएका छन् । उनले केही अन्तर्वार्तामा समेत वरिष्ठ उपाध्यक्षमा आफ्नो स्वाभाविक दाबेदारी रहने बताएका छन् ।
पोखरेलले विधान महाधिवेशनदेखि नै निकट प्रतिनिधिमार्फत त्यही पदमा आफ्नो दाबी रहने प्रस्ट संकेत गर्दै आएका छन् । तर, ओलीको जोड नेम्वाङ वा थापामध्येबाटै वरिष्ठ उपाध्यक्ष बनाउने तयारी रहेको उच्च स्रोतले जनाएको छ । चुनाव भएमा भने नेम्वाङले पोखरेललाई कडा चुनौती दिने अवस्था छ ।
तत्कालीन नेकपाको शक्तिसंघर्ष र पार्टी विभाजनमा पनि साथ दिएको भन्दै ओली मन्त्रिपरिषद्का गृहमन्त्रीसमेत रहेका बादलले पनि एमाले महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षको भूमिका खोजेका छन् । प्रतिनिधि छनोटमा पूर्वमाओवादीको झिनो उपस्थिति छ । तर, एकताका सन्देश दिन आफूहरूलाई सम्मानजनक भूमिका दिनुपर्ने पूर्वमाओवादी नेताहरूको माग छ । पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले पार्टी एकताको निरन्तरताका रूपमा महाधिवेशन हुन लागेकाले सर्वसम्मति नै उपयुक्त हुने धारणा राखे ।
‘तलैदेखि सहमतिमै प्रतिनिधि चयन भएको छ । यसले सबै प्रकारका प्रवृत्तिलाई मिलाएर लैजानुपर्छ र कसैको हारजितभन्दा पनि सबैले जित्ने मान्यता बोकेको छ । मूलतः सहमतिबाटै महाधिवेशनबाट नेतृत्व चयनको आधार खडा गरेको छ,’ नेता रायमाझीले भने, ‘विधान महाधिवेशनमा पार्टीको राजनीतिक विचार र कार्यदिशा, विधान नै सर्वसम्मत भइसकेकाले अब नेतृत्वमा सर्वसम्मति हुँदैन भन्न सकिने कुनै आधार नै छैन ।’
वरिष्ठ उपाध्यक्षमा अहिलेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको पनि आकांक्षा छ । स्रोतका अनुसार ओलीले उपाध्यक्ष ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष तथा सो आयोग अध्यक्ष रहेका अमृत बोहरालाई सल्लाहकार कमिटीको अध्यक्ष बनाउने तयारी गरेका छन् । यसबाहेक ओलीले निकटस्थ नेताहरूमार्फत सर्वसम्मत नेतृत्व चयनका लागि आन्तरिक गृहकार्य पनि सुरु गरेका छन् । तर, अहिले पदाधिकारीमा रहेका नेताहरू र पूर्वमाओवादी समूह तथा नयाँ आकांक्षीसहितलाई पदाधिकारीमा समेट्नुपर्ने ओलीमाथि चुनौती छ । नयाँपत्रिका दैनिक बाट ।
प्रतिक्रिया