काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेकी छिन्। हेरफेर गरिएको जिम्मेवारी अनुसार प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्री आफैंसँग राखेका छन् भने विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाई; गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण; युवा तथा खेलकुद; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी दिइएको छ भने वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास; खानेपानी; भौतिक पूर्वाधार तथा यातायात; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी दिइएको छ।

ओलीको नेतृत्वमा वैशाख ३१ गते गठित मन्त्रिपरिषद्‌मा जेठ १७ र २१ मा भएको नियुक्ति, हेरफेर र कार्य विभाजन हुँदा समावेश भएका दुई जना उपप्रधानमन्त्री, पन्ध्र जना मन्त्री तथा तीन जना राज्यमन्त्रीहरुलाई कार्य नगर्नु/ गर्न नदिनु नदिलाउनु भनी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनीहरुले सम्हालदै आएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।