सर्लाही – पार्टीकाे अधिवेशन गर्ने विषयमा सर्लाहीमा नेपाली कांग्रेसको दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ ।
आज बिहीवारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलङ्गवामा झडप भएको हो । पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका छन् ।
दुई पक्षीय छलफल भइरहेका बेला पाैडेल पक्षले जिल्ला पार्टी कार्यालय घेरा हालेर निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । सर्लाही क्षेत्र नम्बर ४ का सङ्घीय संसद अमरेशकुमार सिंह समर्थित कार्यकर्ताले निर्वाचन अधिकृतमाथि हातपात गरेको बताइएको छ ।
कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच थप झडप हुने देखेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
आज सर्लाहीभरका २० पालिकाको दुई सय वडामा चुनाव गर्ने पूर्वसहमति भएको थियो । सर्लाहीमा आजका लागि तय भएको वडा अधिवेशन दुई पक्षीय विवादका कारण अन्याेल भएको छ ।
यसअघि अधिवेशन गर्न खटिनुभएका निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको विवादका कारण राजीनामा दिनुभएपछि त्यसको दुई दिनपछि केन्द्रले दिवाकरराज पाण्डेलाई निर्वाचन अधिकृत खटाएको थियो ।
सर्लाहीमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षधरका कार्यकर्ताबीच क्रियाशील सदस्यता वितरणदेखिकै विवाद रहँदै आएको छ ।
प्रतिक्रिया