काठमाडौँ – सरकारले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )का नेता झलनाथ खनालका सहोदर भाइ दाताराम खनाललाई सुकुम्वासी आयोगको सदस्यमा नियुक्त गरेको छ।
सरकारले भरखरै मात्र सुकुम्वासी आयोगमा अरू ४ जना सदस्य नियुक्त गरेको छ। २ महिना भन्दा लामो समयसम्म २ जना पदाधिकारीले मात्र आयोगले चलाएका थिए। २ महिना पछि सरकारले ४ जना पदाधिकारी नियुक्त गरेको हो।
सरकारले नेपाली काँग्रेसको कोटाबाट टेकबहादुर शाहलाई नियुक्त गरेको छ भने जनता समाजवादी पार्टीको कोटाबाट राघोराय यादवलाई नियुक्त गरिएको छ। यसै गरी माओवादी कोटामा वासुदेव हुमागाईँ नियुक्त भएका छन् ।
सरकारले गत साउन १९ गते केपी शर्मा ओलीले गठन गरेको तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको थियो। त्यसको केही दिन पछि साउन २९ गते राष्ट्रिय भूमि आयोग आयोग गठन गरिएको थियो।
आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नरेन्द्र खड्कालाई सरकारले पहिले नै नियुक्त गरेको थियो। अध्यक्ष निरौला नेपाली काँग्रेस निकट र उपाध्यक्ष खड्का माओवादी केन्द्र निकट मानिन्छन्।
सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगको गठन आदेशमा आयोगको अध्यक्षले राज्यमन्त्री सरह र अन्य सदस्यहरूले सचिव सरह सेवा सुविधा लिने व्यवस्था छ।
प्रतिक्रिया