काठमाण्डाै – भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । दुई सय ८४ रनको लक्ष्य पाएको न्युजिल्यान्डले नौ विकेट गुमाएर एक सय ६५ रन बनाउँदा पाँचौँ दिनको खेल सकिएपछि पहिलो टेस्ट बराबरीमा सकिएको हो ।

खेल सकिन नौ ओभर बाँकी रहँदा न्युजिल्यान्डले नौ विकेट गुमाइसकेको थियो । तर निकै सङ्घर्ष गरे पनि भारतीय बलरले बाँकी एक विकेट लिन नसक्दा खेल बराबरीमा सकियो । हारतर्फ गएको न्युजिल्यान्डलाई बराबरीमा फर्काउन पहिलो टेस्ट खेलिरहेका रचिन रविन्द्रले ९१ बलमा १८ रन बनाए । रविन्द्र र एजाज पटेलले ५२ बल खेल्दै नटआउट १० रन जोडे ।

दाेस्राे पारीमा भारतका लागि रवीन्द्र जडेजाले चार, रविचन्द्र अश्विनले तीन, अक्षर पटेल र उमेश यादवले एक–एक विकेट लिए । भारत र न्युजिल्यान्डबीचकाे दाेस्राे टेस्ट डिसेम्बर ३ देखि मुम्बईमा हुनेछ । याे खेलमा भारतीय टिमकाे कप्तानी विराट काेहलीले गर्नेछन् ।

भारतका नियमित कप्तान विराट काेहली, ओपनर रोहित शर्मा र तीव्र गतिका बलर जसप्रीत बुमराहसहित अरू ठूला खेलाडी याे खेलकाे हिस्सा थिएनन् । कप्तानी अजिन्क्या रहाणेले गरिरहेका थिए र उनले टस जितेर ब्याटिङ राेजेकाे थियाे । भारतले पहिलाे पारीमा तीन सय ४५ रन बनाएकाे थियाे ।

न्युजिल्यान्डले पहिलाे पारीमा दुई सय ९६ रन बनाएकाे थियाे । भारतले पहिलाे पारीकाे आधारमा ४९ रनकाे अग्रता लिएका थियाे ।

दाेस्राे पारीमा भारतले सात विकेट गुमाएर दुई सय ३४ रन बनाउँदै पारी सकिएकाे घाेषणा गरेकाे थियाे ।

भारतकाे अग्रता दुई सय ८३ रन हुँदा न्युजिल्यान्डले जितका लागि दुई सय ८४ रनकाे लक्ष्य पाएकाे थियाे ।