काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वको विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली प्रकाशन भएको छ । प्रकाशन भएको नामावली अनुसार, शनिबार नयाँ नेतृत्वको लागि १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले आइतबार मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।

शनिबार उम्मेदवारी दर्ता गरेकाहरुलाई आइतबार दिउँसो साढे १२ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको थियो । उक्त समयमा सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै, उम्मेदवारी फिर्ता लिने ५५ केन्द्रीय सदस्य भने विभिन्न क्लस्टरका छन् । उम्मेदवारी फिर्तापछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको हो । अन्तिम नामावली अनुसार, पार्टीको नयाँ नेतृत्वको लागि सभापति पदमा ५ जनाको उम्मेदवारी परेको छ । यसअघि उक्त पदका लागि ६ जनाको उम्मेदवारी परेकोमा गोरखाका युवराज न्यौपानेले मनोनयन फिर्ता लिएका हुन् । सो पदका लागि शेरबहादुर देउवा, विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङको उम्मेदवारी परेको हो ।

यस्तै, उपसभापतिमा २ पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपसभापति पदका उम्मेदवारी दिनेहरुमा महेश अचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् । यसैगरी, महामन्त्रीमा २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । त्यस्तै, ८ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी कायम छ । नेतृत्व चयनका लागि भोलि मंसिर २७ गते सोमबार विहान ८ बजे मतदान शुरु हुने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।