नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा खुल्लातर्फको ३५ जना केन्द्रीय सदस्यको मतगणना जारी छ ।
शनिवार दिउँसोबाट शुरू भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार शशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएर अग्रता कायम गरेका छन् ।
१३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर जितेका कोइराला यसपटक सभापतिको आकांक्षी थिए । तर, कांग्रेसका संस्थापनइतर समूहमा उनको उम्मेदवारीको पक्षमा सहमति जुट्न नसकेपछि शशांक सभापतिको उम्मेदवारबाट पछि हटेका थिए ।
कांग्रेसको निर्वाचन समितिले दिएको जानकारी अनुसार, अहिलेसम्म शशांक कोइराला ५३ मत ल्याएर अग्रस्थानमा छन् ।
उनीपछि सबैभन्दा धेरै मत ल्याउनेमा उदयशमशेर राणा छन् । उनले अहिलेसम्म ४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, रामहरि खतिवडाले ४३, रमेश लेखकले ४२ र एमपी साउदले ३७ मत ल्याएका छन् ।
कांग्रेसको ३५ जना खुल्ला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार बनेका थिए ।
कांग्रेसको १३ औं महाधिवेशनमा २५ जना खुल्ला केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने व्यवस्था थियो । विधानको व्यवस्थालाई परिमार्जन गरेर १४ औं महाधिवेशनमा ३५ जना खुल्ला केन्द्रीय सदस्यको लागि निर्वाचन गराइएको थियो ।
आगामी दुईदेखि तीन दिनभित्रमा कांग्रेसका सबै केन्द्रीय सदस्यको मतगणना सम्पन्न गर्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताएका छन् ।
प्रतिक्रिया