काठमाडौँ : आज देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले देशभर बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रहेको छ । यसमा पनि प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

शनिबार बिहानैदेखि देशको पूर्व तथा मध्य क्षेत्रमा हल्का तथा मध्यम बर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

महाशाखाको पूर्वानुमान बुलेटिन अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बद्ली रहनाका साथै देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । भोलिपल्ट सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नं १ का एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार काठमाडौँको अधिकतम २७ दशमलव ४ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्रि सेल्सियस छ