मनाङमा हिउँपहिरोमा परी एकजना बेपत्ता भएका छन् । हिमपहिरोमा परी नासोँ गाउँपालिका–४ ओडारको फेम्रो जंगलमा ५५ वर्षीय आच्यु गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए । उनको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ । तीन दिनसम्म निरन्तर हिमपात हुँदा मनाङको जनजीवन प्रभावित भएको छ ।
मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । सोमबारदेखि निरन्तर परेको हिमपातका कारण तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चामेमा तीन फिट बाक्लो हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार मनाङको तल्लो क्षेत्र नासोँ गाउँपालिका– ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो ।
जाडो बढेसँगै तापक्रम दिउँसो माइनस र साँझ–बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए ।
‘सोमबारदेखि परेको हिमपातले चिसो अत्यधिक बढेको छ’ सशस्त्र प्रहरी बल नेपाल ३२ गुल्म मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले भने, ‘बाक्लो हिमपातका कारण हिंड्डुलमा समेत समस्या भएको छ ।’ यो समाचार नयाँ पत्रीकामा प्रकाशित भएको छ।
प्रतिक्रिया