विश्वका आधाभन्दा बढि देशमा रामकुमारीको घर भेटिएपछि ‘ईन्टरनेशनल करप्सन कोर्ट’ले अन्तराष्ट्रिय ‘ढाँटझुठ’ कमिटी बनाउने भएको छ । साहित्यकार खईन्द्र संग्रौलाको अध्यक्षतामा गठित यस कमिटिले ७ दिनभित्र आफ्नो प्रतिवेदन दिनेछ । यदि यो समाचार सत्य भए रामकुमारी झांक्रीलाई अन्तराष्ट्रिय अदालतमा उभ्याईनेछ भने गलत भए खईन्द्र संग्रौला लगायतलाई अन सोसल अदालतमा खडा गरिनेछ ।
तर खगेन्द्र संग्रौलाका फ्यानहरु स्वयं भने यो कुरा मान्न तयार छैनन् । उनीहरु भन्दैनन्- ‘उहाँजस्तो वरिष्ठ मान्छेले त्यस्तो अपुष्ट, अनाधिकारिक, भ्रामक र फेक समाचार शेयर गर्नै सक्नुहुन्न। बरु यो एकाउण्ट उहाँको हो कि हैन, त्योचाहिं फ्याक्ट चेक गर्नुपर्छ।’
अहिले सामाजिक सञ्जालमा एउटा घरको फोटो भाइरल भएको छ। बन्दै गरेको जस्तो देखिने सो बहुतल्ले घरको फोटोसहित सामाजिक सञ्जालमा दावी गरिएको छ- सो घर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट मन्त्री भएकी रामकुमारी झाँक्रीको हो। एकीकृत समाजवादीले आफ्नो दलका मन्त्रीहरु परिवर्तन गर्न लागेको समाचार आइरहेको बेला यो फोटो भाइरल भएको हो। सामाजिक सञ्जालमा सामान्य मान्छेले मात्र हैन, राजनीतिक लेखसमेत लेख्ने प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले समेत सो फोटोसहित मन्त्री झाँक्रीको घर लेख्दै ट्विट गरेका रहेछन्। फेसबुकमा यो फोटो सयौँले सेयर गरेका छन्। तर हाम्रो तथ्य जाँचमा यो दावी मिथ्या सूचना भएको देखियो। यो फोटो हामीले थुप्रै विदेशी वेबसाइटहरुमा पनि भेट्यौँ।
कहाँ कसरी फैलियो?
प्रगतिशील साहित्यकारका रुपमा चिनिने खगेन्द्र संग्रौलाले सोमबार (जुन ६, २०२२) दिउँसो ‘आम्मामामा रामकुमारी झाँक्रीकाे घर!!’ लेख्दै अर्का ट्विटर प्रयोगकर्ता बिनी चाम्सले मन्त्री झाँक्रीको दावी गर्दै राखेको फोटो ‘कोट ट्विट’ गरेका छन्।
संग्रौलाले ट्विट गरेको तीन घण्टामै यसलाई १७ पटक रिट्विट, १६ कोट ट्विट र ११२ लाइक्स भएको देखिन्छ।
फेसबुकमा पनि थुप्रैले यो फोटोलाई मन्त्री झाँक्रीको दावी गर्दै पोस्ट गरेको देखिन्छ।
सुशील खड्का नामका प्रयोगकर्ताले सोमबार बिहान पोस्ट गरेको यो फोटो साँझसम्म ३ सयभन्दा बढीले सेयर गरिसकेका छन्
के हो तथ्य ?
यो फोटोको विषयमा तथ्य जाँच गर्ने क्रममा हामीले यसलाई गुगलमा रिभर्स इमेज सर्च गरी हेर्यौँ। त्यस क्रममा यही फोटो थुप्रै विदेशी वेबसाइटहरुमा पनि प्रयोग भएको देख्यौँ।
केन्याको रस्मिया होम डिजाइन लिमिटेडको वेबसाइटमा एक्सटेरियर होम डिजाइन्स अन्तर्गत विभिन्न डिजाइनका घरहरुको फोटोमा यही घरको फोटो समेत राखिएको छ।
तथ्य जाँच
दावी : सामाजिक सञ्जालमा भाइरल भएको तीन तल्ले बन्दै गरेको घर मन्त्री रामकुमारी झाँक्रीको हो।
तथ्य : मिथ्या सूचना। यो घर भारतदेखि केन्या, उज्बेकिस्तान, मोरक्को, इरानबाट सञ्चालित वेबसाइटहरुमा पनि भेटियो। गुगल सर्च गर्ने क्रममा हामीले सामाजिक सञ्जालमा भाइरल भएकै हुबहु फोटो थुप्रै वेबसाइटहरुमा पनि भेट्यौँ। तसर्थ यो घर मन्त्री झाँक्रीको भनी गरिएको दावी मिथ्या भएको देखिन्छ।
प्रतिक्रिया