सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाहीले आफ्नो श्रीमानलाई पालिका कार्यालयको प्रिफ्याव भवनको भुक्तानी नदिएको भन्दै पालिकाका कर्मचारीलाई श्रीमानको भुक्तानी नभएसम्मका लागि कुनैपनि भुक्तानी नदिन उर्दी जारी गरेकी छिन् ।

आर्थिक वर्ष २०७५/०७६ मा उनका श्रीमान बखत बहादुर शाहीले मालिका कन्स्ट्रक्सनको नामबाट ८८ लाखमा ५४ दिनमा पालिका भवन निर्माण गर्ने भन्दै पालिकासँग सम्झौता गरेका थिए ।

तर उनले हालसम्म पनि भवन निर्माण पुरा गर्न सकेका छैनन् । भवन स्टिमेट अनुसार नभएको, १३ महिनादेखि बैंक ग्यारेण्टी सकिएको र ऐन विपरित बारम्बार म्याद थप गर्दा पनि भवन सम्पन्न नहुँदै ८८ लाख रुपैंया भुक्तानी दिन अध्यक्ष शाहीले प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर विकलाई दवाव दिएकी थिइन् ।

अध्यक्ष शाहीको दवावमा परेर आफूहरुले भुक्तानी गर्न नसक्ने बताएसँगै अध्यक्ष शाहीले आफ्ना श्रीमानको ७३ लाख रकम भुक्तानी दिन नसक्ने भए पालिकाबाट कसैलाई पनि एक रुपैंया भुक्तानी नदिन भन्दै आदेश दिएकी थिइन्।

‘मेरो भुक्तानी नदिने भए कसैको नदिनुहोला । उक्त आदेश अध्यक्षबाट आएको हो । यस्तो हाकिम चाहिदैन हामी नयाँ हाकिम ल्याउँछौं भनेर पनि उहाँले भन्नु भयो ।’ पालिकाका एक कर्मचारीले  भने, ‘प्रमुख प्रशासकीय अधिकृत विक, लेखापाल जेठबहादुर बुढा, प्रशासन योजना, तथा अनुगमन शाखा प्रमुख शाखा हरिबहादुर थापा र प्राविधिक शाखा प्रमुख विकास विष्टसमेतलाई उनले भुक्तानी कार्य अघि नबढाउन आदेश दिएकी थिइन् । सोही कारण आज दिनभर कसैको काम हुन सकेन ।’

असार मसान्त नजिकै आइरहेको समयमा पालिकामा अध्यक्ष शाहीको हस्तक्षेपले काम गरेका तर भुक्तानी नपाएका सर्वसाधारणहरु मर्कामा परेका छन् ।प्रमुख प्रशासकीय अधिकृत विकले अध्यक्षले भुक्तानी रोक्न आदेश दिएको बताउँदै अरु कुरा खोल्न चाहेनन् ।

हाजिर नगर्न चेतावनीपछि प्रशासकीय अधिकृत विकले बिदा मागे थिए ।

यता, यसबारेमा कुरा गर्न खोज्दा अध्यक्ष रिता शाहीको मोबाईल अफ रहेको छ ।भैरवी गाउँपालिकाका उपाध्यक्ष देवि भण्डारीले विवादका कारण आज पालिकामा भुक्तानी रोकिएको बताइन् ।

‘कार्यालयमा अध्यक्ष र कर्मचारीबीच विवाद भएर रोकिएको हो भन्ने कुरा सुनेको थिएँ । पालिका भवनको भुक्तानीको बारेमा विवाद भएको हो ।’ उनले भनिन्, ‘आज कसैले पनि भुक्तानी भने पाएनन् । भुक्तानी नहुँदा नागरिकले सास्ती खेप्नु परेको छ ।’ यो समाचार नेपाल प्रेसमा प्रकाशित छ।