काठमाडौं, १४ असार। प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । नेता नेपालले केही दिनअघि प्रधानमन्त्री बन्नको लागि ओलीले अफर गरेको खुलासा गरेपछि प्रधानमन्त्री ओलीले यस्तो स्पष्ट पारेका हुन् ।

उनले माधव नेपाललाई प्रधानमन्त्री बन्नको लागि प्रस्ताव गर्नको लागि आफूलाई बहुला कुकुरले नटोकेको टिप्पणी गरे । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित मदन भण्डारीको ७० जन्मजयन्ति कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।                                                                                                                                                                 नेता नेपाल माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहालको मामुली कार्यकर्ता रहेको ओलीलेआरोप लगाए । उनले भने,‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्।मलाई बहुला कुकुरले टोकेको छ र! नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला।’

उनले नेपाललाई लाज शरम पचेको मान्छे भनेका छन् । ‘कम्युनिस्ट आन्दोलन सिध्याउने लाज शरम पचेको मान्छे,’ओलीले मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भने, ‘माधव नेपाल भन्ने एकजना काँग्रेसको पछि कुद्ने मान्छे छन् ।’ उनले माधव नेपाललाई पतनको बाटोमा लागेको टिप्पणी गरे ।