श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष उक्त टापुराष्ट्रमा आर्थिक सङ्कटलाई लिएर व्यापक प्रदर्शन भएपछि रातारात भागेर माल्दिभ्स पुगेका छन्।
उनी स्थानीय समय अनुसार बुधवार बिहान तीन बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीको बुझाइ रहेको छ।
राजापक्ष श्रीमती र दुईजना अङ्गरक्षकलाई आफूसँगै लिएर एउटा सैन्य जहाजमा उक्त देश गएको स्रोतलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।
राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजापक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट बच्न माल्दिभ्स भागेको अनुमान गरिएको छ।
उनी माल्दिभ्समा नै नबसेर तेस्रो देश जान लागेको ठानिएको छ। तर उनी ठ्याक्कै कहाँ जाँदैछन् भन्ने अझै स्पष्ट भइसकेको छैन।
यद्यपि उनी सिङ्गापुर वा दुबई जानसक्ने हल्लाहरू चलेका छन्।
उनले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन्।
गत शनिवार प्रदर्शनकारीले उनको कार्यालय र घर कब्जा गरेपछि राजापक्ष लुकेर बसेका थिए। उनले बुधवारै राजीनामा दिने प्रतिबद्धता जनाएका थिए।
यद्यपि हालसम्म उनको राजीनामा आइसकेको छैन।
यसअघि सभामुखले राजापक्षले आफ्नो राजीनामापत्र आज हस्तान्तरण गर्ने योजना बनाएको बताएका थिए।
उनको राजीनामाले विगत दुई दशकदेखि श्रीलङ्काको राजनीतिमा प्रभुत्व जमाउँदै आएको राजपक्ष परिवारको शासनको अन्त्य हुनेछ।
उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापक्ष पनि श्रीलङ्काबाट भागेका छन्।
उनी अमेरिका जाने बताइएको छ।
राजधानी कोलम्बोमा रहेका बीबीसीका सम्वाददाता अनवरसन इथिराजन भन्छन्, “अर्थतन्त्र व्यवस्थापन गर्न नसकेको भन्दै आक्रोश पोख्न सडकमा निस्किएका प्रदर्शनकारीका लागि राष्ट्रपति देश छोडेर जानु एउटा उल्लेखनीय जित हो।”
किन रोजे माल्दिभ्स?
श्रीलङ्काले हिन्द महासागरमा रहेको आफ्नो छिमेकी सानो टापुराष्ट्र माल्दिभ्ससँग सधैँ घनिष्ठ सम्बन्ध राखेको छ।
उक्त देश श्रीलङ्काबाट केवल ९० मिनेटको उडानमा पुगिन्छ।
यी दुवै राष्ट्रले ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएदेखि नै सकारात्मक कूटनीतिक र आर्थिक सम्बन्ध कायम राखेका छन्।
उदाहरणका लागि माल्दिभ्सको सेनालाई श्रीलङ्काको सेनाले तालिम दिएको छ।
विशेषगरी राजापक्ष परिवारको माल्दिभ्सका नेताहरूसँग बलियो सम्बन्ध छ।
उक्त टापु राष्ट्रका पूर्वराष्ट्रपति र वर्तमान संसद्का सभामुख मोहम्मद नसीदसँग राजपक्ष परिवारको मैत्रीपूर्ण सम्बन्ध छ।
केही स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार राष्ट्रपति राजापक्षलाई स्वागत गर्न नसीद रातभरि माले विमानस्थलको धावनमार्ग छेउमा पर्खिरहेका थिए।
राजापक्षहरूको माल्दिभ्समा पारिवारिक घर र त्यहाँ अन्य सम्पत्ति रहेको पनि विवरणहरू आएका छन्।
प्रधानमन्त्रीको भनाइ
श्रीलङ्कामा कार्यवाहक राष्ट्रपतिको पदसमेत सम्हालेका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले “सुव्यवस्था कायम गर्न जे आवश्यक हुन्छ त्यही गर्न” सेना र प्रहरीलाई आफूले आदेश दिएको बताएका छन्।
प्रधानमन्त्रीको भनाइ
श्रीलङ्कामा कार्यवाहक राष्ट्रपतिको पदसमेत सम्हालेका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले “सुव्यवस्था कायम गर्न जे आवश्यक हुन्छ त्यही गर्न” सेना र प्रहरीलाई आफूले आदेश दिएको बताएका छन्।
हजारौँ प्रदर्शनकारी बलपूर्वक प्रधानमन्त्री कार्यालयको गेटबाट भित्र छिरेपछि उनले यस्तो आदेश दिएका हुन्
प्रधानमन्त्री रनिल विक्रमसिङ्घले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न आह्वान पनि गरे।
रक्षा प्रमुखको भनाइ
श्रीलङ्काका रक्षा प्रमुखले देशमा अशान्त परिस्थिति जारी रहँदा सुव्यवस्था कायम गर्न सघाउन सर्वसाधारणलाई आह्वान गरेका छन्।
भिडियो सन्देशमा रक्षा प्रमुख जेनेरल शभेन्द्र सिल्भाले संसद्का सभामुखलाई नयाँ राष्ट्रपतिले शपथ लिने बेलासम्मका लागि अबको बाटो के हुन्छ भनेर निर्णय गर्न पार्टीका नेताहरूको बैठक आह्वान गर्न र त्यसबारे साँझसम्म आफूहरूलाई सूचित गर्न भनेका छन्।
यसअघि प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
विपक्षी के भन्छन्?
बीबीसी विश्व सेवाका सहकर्मीहरूले श्रीलङ्काको विपक्षी दल न्याशनल पिपल्स पावर पार्टीकी सांसद हरिणी अमरसुरियाको भनाइ सुनेका छन्।
राजधानी कोलम्बोमा बोल्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामाको माग जायज भएकाले आफ्नो पार्टी जनता र प्रदर्शनकारीको साथमा रहेको बताइन्।
उनले बीबीसी न्यूज आवरलाई “उनीहरूको राजीनामाविना मानिसहरू सडकबाट नफर्कने” बताइन्।
उनले अहिले पार्टीका नेताहरूको बैठक भइरहेको जानकारी दिइन्।
नेताहरूले जनआन्दोलनको गम्भीरता बुझ्नुपर्ने उनको भनाइ छ।
उनले भनिन्, “यो कुनै सानो विरोध प्रदर्शन होइन। मानिसहरूले महिनौँदेखि विरोध गर्दै आएका छन् र उनीहरू सम्पूर्ण आन्दोलनप्रति प्रतिबद्ध छन्।”
“नेताहरूले जनताको आवाजलाई सुन्नुपर्छ र पद त्याग्नु पर्छ।”
श्रीलङ्काबारे जान्नुपर्ने केही कुरा
• टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय – सिन्हाला, तमिल र मुस्लिम – ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्
• राष्ट्रपतिको शक्ति: श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ
• शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन्
• आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।यो समाचार बिबिसीमा प्रकाशित छ।
प्रतिक्रिया