काठमाडौँ — धरहराको पुनर्निर्माणमा तोकिएको बढी रकम भुक्तानी भएको सरकारी प्रतिवेदनले देखाएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनले निर्माण व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक फ्याक्टर प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको उल्लेख छ ।

३१ लाख ६० हजार र सोको मूल्य अभिवृद्धि कर ४ लाख ११ हजार गरी ३५ लाख ७० हजार रुपैयाँ निर्माण व्यवसायीबाट असुल गर्नु पर्ने देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार मन्त्रिपरिषदको २०७७ माघ ११ को निर्णयमा निर्माणको समयावधि थप भएबापत नेपाल सरकारलाई समय थप भएको अवधिमा कुनै आर्थिक व्ययभार नहुने उल्लेख छ ।

सोही आधारमा पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणमा २०७७ असोज २० देखि २०७८ पुस १५ गतेसम्म पटक पटक म्याद थप गरेको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन अनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५ (२) मा खरिद सम्झौता प्राप्त गर्नेको ढिलाइका कारण सम्झौताबमोजिम उल्लेखित अवधिभित्र सम्पन्न नभई बढी समय लागेमा मूल्यवृद्धि भुक्तानी नहुने उल्लेख छ । जसको ठेक्का २०७५ असोज १४ मा २०७७ असोज १४ भित्र सम्पन्न गर्नेगरी भएको थियो ।

धरहराका विशेषता

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतल्लासहित २३ तला हुनेछ । समग्रमा धरहरा २५ तलाको हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत तीन अर्ब ४८ करोड रहेको जानकारी पनि उनले जानकारी दिए ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।

धरहराको इतिहास

विसं.१८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाएको इतिहास छ । विसं. १९१३ मा बज्र (चट्याङ) ले भत्केपछि विसं. १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।

विसं. १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो ।

यो धरहराभन्दाअघि विसं. १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं. १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनःनिर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ