नेपालमा १० वर्षसम्म चलेको नेकपा माओवादीको सशस्त्र विद्रोहमा प्रयोग गरिएका हतियार नेपाली सेनालाई हस्तान्तरण गरिएको यसै साता एक दशक पूरा भएको छ।

शान्ति सम्झौतामार्फत माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि विसं २०६८ चैत २८ गते माओवादीसँग रहेका भनिएका सबै हतियार नेपाली सेनालाई जिम्मा लगाइएको थियो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादीको तर्फबाट संयुक्त जनमोर्चाका संयोजक बाबुराम भट्टराईले माघ २१ गते बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै उक्त पार्टीले विसं २०५२ साल फागुन १ गते सशस्त्र विद्रोह शुरू गरेको थियो।

रोल्पाको होलेरीसहित रूकुम, सिन्धुली र गोरखामा माओवादीले यो दिन एकसाथ सशस्त्र आक्रमण गरेको थियो।

अहिलेको नेकपा माओवादी केन्द्रले फागुन १ गतेलाई “जनयुद्ध दिवस” को रूपमा सम्झने गरेको छ।

एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वमा विद्रोही माओवादी, राज्यपक्ष र सर्वसाधारण गरी १७,००० मानिसको ज्यान गएको विभिन्न तथ्याङ्कमा उल्लेख छ। विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौतापछि हतियार विसाएर माओवादी शान्तिपूर्ण राजनीतिमा सामेल भएको हो।

शान्ति प्रक्रियामा हतियार लुकाएको प्रसङ्ग

नेपालमा १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको माओवादीले आफ्ना सबै हतियार राज्यलाई बुझाएको एक दशकपछि अधिकारीहरूले माओवादीले राष्ट्रसङ्घीय अनुगमनबाट केही हतियारहरू लुकाएर राखेको खुलाएका छन्।

नेपालमा शान्ति प्रक्रियाको मध्यस्थताका लागि आएको राष्ट्रसङ्घीय शान्ति नियोग (अनमिन)ले माओवादीका लडाकु र हतियारको प्रमाणीकरण र अनुगमन गरेको थियो।

चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा भएको विशेष कार्यक्रममा विसं २०६७ माघ ८ गते माओवादी लडाकुका शिविर र हतियार तत्कालीन सेना समायोजन विशेष समितिको मातहतमा आएको घोषणा गरिएको थियो।

त्यसको एक वर्षपछि २०६८ चैत २८ गते माओवादीसँग रहेका भनिएका सबै हतियार नेपाली सेनालाई जिम्मा लगाइएको थियो।

लडाकु तथा हतियार अनुगमनको जिम्मेवारी लिएको अनमिनले २०६७ पुस मसान्तबाट फिर्ता भएपछि हतियार अनुगमनको जिम्मा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माओवादी लडाकू सम्मिलित टोलीलाई दिइएको थियो।

कति हतियार लुकाइएकोथियो?
शान्ति सम्झौतापछि सशस्त्र विद्रोह छोडेको माओवादीले आफूसँग भएका ३,४७५ वटा विभिन्न हतियारहरू अनमिनको उपस्थितिमा प्रमाणित गराएको थियो।

तर माओवादी लडाकु व्यवस्थापनमा संलग्न अधिकारीहरूले अन्मिनबाट प्रमाणित नगराएका केही हतियारहरू माओवादीले सेना समायोजनको अन्तिम चरणमा राज्यलाई बुझाएको बताएका छन्। माओवादीकै नेता र एक जना पूर्व लडाकुले पनि यसको पुष्टि गरेका छन्।

माओवादीले प्रमाणित गराएका हतियार सात ठाउँमा रहेका माओवादी लडाकुका शिविरहरूमा राखिएका १४ वटा कन्टेनरभित्र अनमिनको समेत निगरानीमा राखिएको थियो।

सरकार र माओवादीबीच विसं २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा शिविरको सुरक्षाका लागि आवश्यक पर्ने बाहेकका सबै माओवादीका हतियार राष्ट्रसङ्घको निगरानीमा शिविर भित्रै साइरनजडित संयन्त्र सहित भण्डारण गर्ने उल्लेख थियो।

माओवादीले विसं २०६४ चैत्रमा भएको संविधानसभा निर्वाचन अघि नै आफ्ना हतियार अनमिनबाट प्रमाणित गराएर कन्टेनरमा राखेको थियो।

माओवादीले प्रमाणित गराएका मध्ये करिब ५०० वटा हतियार शिविरको सुरक्षाका लागि राखिएको थियो। ती हतियार पनि सेना समायोजन प्रक्रियाको अन्त्यतिर नेपाली सेनालाई बुझाइएको थियो।

सरकारले विसं २०६८ चैतमा माओवादी शिविरको सुरक्षामा नेपाली सेना खटाएसँगै शिविरभित्र कन्टेनरमा राखिएका हतियार सरकारले नेपाली सेनालाई जिम्मा दियो।

निवर्तमान रक्षा मन्त्री समेत भइसकेका विशेष समिति सदस्य मिनेन्द्र रिजाल र विशेष समितिका अर्का सदस्य दीपक प्रकाश भट्टले पनि माओवादीले लुकाएका यस्ता हतियारहरू अन्तिम समयमा बुझाएको पुष्टि गरे।

माओवादीले राजनीतिक दलहरूप्रति पूर्ण विश्वास नगरेकै कारण कतिपय हतियार लुकाएर राखेको हुनसक्ने सुरक्षा विज्ञ समेत रहेका भट्टले बताए।

“त्यो (गणना) भन्दा बाहेकको हतियार पनि विश्वास र अविश्वासको बीचमा राजनीतिक मुद्दामा छलफल हुँदै जाँदा विश्वासको वातावरण बन्दै गएपछि त्यसरी राखिएका हतियारहरू राज्यलाई बुझाउने भन्ने माओवादीको आन्तरिक सहमति भएपछि बुझाएको हतियार आठ सयको सङ्ख्यामा आयो भनेर हामीले छलफल गर्‍यौँ,” भट्टले भने।

तर यकिन सङ्ख्या आफूलाई पनि थाहा नभएको उनले बताए।

माओवादी कमान्डर केभन्छन्?

तत्कालीन माओवादीको ‘जनमुक्ति सेना’का कमान्डर समेत रहेका माओवादी नेता चक्रपाणि खनालले केही हतियार गणनामा नआएको बारे चर्चा भए पनि पछि बुझाएको आफूलाई स्मरण नभएको बताए।

“केही हतियार गन्तीमा आएनन् भन्ने राष्ट्रसङ्घलाई पनि थाहा छ। तर ती कहाँ परे भन्ने कसैले भन्न सकेन”, उनले भने।

तर हतियारबारे जानकार शक्तिखोरस्थित माओवादी शिविरका एक लडाकुले आफूहरूले कन्टेनर बाहिर पनि केही सङ्ख्यामा हतियार लुकाएको बीबीसी नेपाली न्यूजसँग पुष्टि गरे।

“हापुरेमा वार्ता चलिरहँदा दोरम्बामा माओवादीहरू मारिएकै हुन्। हामीलाई शान्ति प्रक्रियामा सरकारको प्रतिबद्धताबारे पूर्ण विश्वास नभएका कारण केही हतियार लुकाएकै हो। पछि विश्वस्त वातावरण भएपछि ती हतियार बुझाएका हौँ,” नाम नबताउने सर्तमा ती वरिष्ठ दर्जाका लडाकुले भने।

उनका अनुसार सात वटै शिविरहरूमा कम्तीमा ३० देखि ४० वटाका दरले यस्ता हतियारहरू लडाकुहरूले आफूसँगै राखेका थिए। यकिन सङ्ख्या आफूलाई याद नभए पनि त्यस्ता हतियारहरू ३०० देखि ४०० को बीचमा हुनसक्ने उनले बताए।

“समायोजन वा अवकाशमा जाँदा सँगै लिएर जाने कुरा भएन त्यसले त थप द्वन्द्व निम्त्याउने भयो। हामी जिम्मेवार भएर ती हतियार बुझाएका हौँ,” उनले भने।

माओवादीका तत्कालीन लडाकु सह-कमान्डर समेत रहेका युवराज दुलालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानसेनापति रूकमाङ्गद कटवाललाई पदबाट हटाउने निर्णयपछि सेनाबाट कू हुने आशङ्का गरिएको र माओवादी लडाकुले हतियार सहित बालुवाटारमा उनको पहरा दिएको बताएका छन्। तर उनले ती लुकाइएका हतियार नभएको बताए।

“माओवादी नेताहरूको सुरक्षाका लागि जति हतियार बाहिर ल्याएका थियौँ ती प्रमाणित नै थिए। मेरै कमान्डमा थियो। ती हतियार पछि सेना समायोजन भएपछि बुझाएको हो,” उनले भने।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका माओवादी नेता बाबुराम भट्टराईको जीवनी समेटिएको पुस्तक ‘अविराम बाबुराम’मा भट्टराईलाई उद्धृत गर्दै माओवादीले चार सय हतियार लुकाएको उल्लेख छ।

अनिल थापाद्वारा लिखित पुस्तकमा ‘बाबुराम त्यस बेलाको घटना स्मरण गर्छन्, “गिरिजाबाबु, केही ठेगान छैन, अलिकति हतियार त राख्नुपर्छ कि ? यति भन्नासाथ कोइरालाले अप्रत्याशित जवाफ दिए। कोइरालाले जोसिँदै भने,– हुन्छ, हुन्छ राख्नूस, राख्नूस के पर्छ पर्छ। अलिकति लुकाउनुस्, हामीले पनि लुकाएकै हो।”’

पूर्व राजा ज्ञानेन्द्र शाहले परिवर्तन उल्टाउन सक्ने आशङ्काका कारण हतियार लुकाउनुपरेको भट्टराईले लेखकसँग बताएका छन्।

“त्यसपछि माओवादी लडाकू र हतियार शिविरमा जम्मा गर्ने क्रममा चार सय थान आधुनिक र राम्रा राम्रा हतियार लुकाइयो। यो कुरा माओवादीमा प्रचण्ड, बाबुराम र केही कमान्डरलाई मात्र थाहा थियो भने अन्य दलमा (गिरिजा प्रसाद)कोइरालालाई मात्र थाहा थियो,” थापाले लेखेका छन्।

पुस्तकमा थापाले प्रधानमन्त्री भट्टराईले तत्कालीन प्रधान सेनापति छत्रमानसिंह गुरुङलाई बालुवाटार बोलाएर लुकाइएका हतियारबारे जानकारी गराएको र सेनालाई बुझाइएको उल्लेख छ।

विशेष समितिका सदस्यहरूले पनि यही कुरा दोहोर्‍याएका छन्।

“सेनापति गुरुङलाई प्रधानमन्त्री बाबुरामले ती हतियार सेनाको छाउनीस्थित भण्डारमा राख्न निर्देशन दिए । र त्यसै गरियो,” पुस्तकमा भनिएको छ।

नेपाली सेनाको भनाइ

तत्कालीन प्रधानसेनापति छत्रमान सिंह गुरुङले आफ्नो आत्मकथा ‘जनताको छोरो‘ मा भट्टराईसँग लडाकु र हतियार व्यवस्थापनबारे गोप्य भेटवार्ताहरू भएका प्रसङ्गहरू उल्लेख गरे पनि माओवादीले लुकाएका हतियार बुझेको प्रसङ्ग कतै खुलाएका छैनन्।

उनले माओवादीका ७ वटा शिविरहरूमा रहेका १४ वटा कन्टेनरहरूबाट ३,४५५ वटा हतियार नेपाली सेनाले बुझेको र त्यसमा अनमिननले प्रमाणित गरेका २७ वटा हतियार अपुग भएको विवरण राखेका छन्।

अनमिनबाट तत्कालीन अवस्थामा सार्वजनिक गरिएका विवरणहरूमा ३,४७५ मात्रै हतियार प्रमाणित गरिएको उल्लेख छ।

भट्टराइको जीवनीमा उल्लेख भएजस्तो लुकाइएका हतियार माओवादीले बुझाएकोबारे तत्कालीन प्रधानसेनापति गुरुङले कहीँ कतै उल्लेख नगरे पनि नेपाली सेनाका एक अधिकारीले माओवादीबाट ४ हजार आसपासको सङ्ख्यामा हतियार बुझेको पुष्टि गरे।

“हामीकहाँ आएका हतियारको सङ्ख्या ४,००० आसपासमा नै हो,” ती अधिकारीले नाम नबताउने सर्तमा बीबीसी न्यूज नेपालीसँग भने।

तर नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल सुरक्षा संवेदनशीलताका कारण हतियारको सङ्ख्या कति थियो भनेर खुलाउन नमिल्ने बताउँछन्।

“सेनाले कस्ता र कति हतियार बुझेको थियो भन्ने विषय सुरक्षा संवेदनशिलताका कारण खुलाउन मिल्दैन,” उनले भने।

विप्लव समूहले हतियार लगेको थियो?

गुरुङले माओवादीभित्र सेना समायोजनको प्रक्रियामा असन्तुष्ट मोहन वैद्य पक्षले कन्टेनरमा रहेका हतियारहरू लिएर जाने योजनाको सूचना आएको भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई राति नै बालुवाटार बोलाएर शिविर र हतियार नियन्त्रणका लागि तयारी अवस्थामा रहन भनेको उल्लेख गरेका छन्।

“शिविरहरूमा हतियारका कन्टेनरहरू आदिको सुरक्षाको विषय निकै गम्भीर भइराखेको सूचना आइराखेको छ। चाँडै नै गर्नुपर्ला जस्तो छ,” भट्टराइको भनाइ उद्धृत गर्दै गुरुङले आफ्नो आत्मकथामा उल्लेख गरेका छन्।

नवलपरासीको झ्याल्टुङ डाँडामा माओवादी लडाकुका शिविरमा नेपाली सेनालाई प्रवेशमा अवरोध भएपछि ढिलो गरी उक्त शिविर सेनाको नियन्त्रणमा आएको गुरुङले उल्लेख गरेका छन्।

भट्टराइको जीवनीमा थापाले उक्त शिविरबाट विप्लव समूहले केही हतियार लिएर गएको दाबी गरेका छन्।

‘उपचारमा सबै सकियो, सम्पत्तिको नाममा बैसाखीमात्र’

“तर, प्रधानमन्त्रीले प्रधानसेनापतिलाई निर्देशन दिनुअघि नै नेत्रविक्रम चन्द विप्लव को नेतृत्वमा नवलपरासी र कैलालीमा लुकाइएका केही थान हतियार चोरिए,” अविराम बाबुराममा भनिएको छ।

माओवादीबाट अलग भएर केही समय अर्ध भूमिगत रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको तर हालसम्म निर्वाचन आयोगमा हालसम्म दर्ता नभएको नेकपा माओवादीका कार्यकर्ताहरू केही वर्षयता आधुनिक हतियारसहित पक्राउ परेका समाचार आउने गरेका छन्।

तर गृह मन्त्रालयसँग गत कात्तिकमा भएको औपचारिक छलफलपछि नेत्रविक्रम चन्दका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बीबीसीसँग भनेका थिए, “हामी युद्धमा थिएनौँ, त्यसैले युद्धसँग सम्बन्धित सामग्री पनि हामीसँग हुने कुरै भएन।विविसीबाट