नेकपा एमालेले तिलोत्तमा नगरपालिकाको नगरसभाका क्रममा प्रहरीबाट भएको दुर्व्यवहारका सम्बन्धमा सरकारको जवाफ माग गरेको छ ।
सोमवार राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले सांसद खिमलाल भट्टराईले प्रहरीले एमालेका जनप्रतिनिधिहरूमाथि गरेको दुर्व्यवहारका सम्बन्धमा सरकारको जवाफ माग गरेको हो ।
बैठकमा सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई पोखरीमा धकेलेको विषयमा आपत्ति जनाए । उनले ‘प्रहरीको शासन चलाउन खोजेको हो’ भनेर गृहमन्त्रीलाई प्रश्न गरेका छन्।
सांसद भट्टराईले गृहमन्त्री बालकृष्ण खाणले आफ्नो भाइ मेयर भएको सो नगरपालिकामा प्रहरीमार्फत ज्यादति गराएको आरोप लगाए । उनले वडा अध्यक्षलाई पोखरीमा चोबल्ने डिएसपीलाई कारबाही गर्न माग गरेका छन् ।
जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर, प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उनले भनाइ छ । उनले बहसहरू हुनसक्ने भन्दै प्रहरीले ज्यादति गरेको आरोप लगाए । ‘लोकतन्त्रको सुन्दरता भनेकै बहसबाट निस्कर्षमा पुग्ने पद्धति हो । बहसहरू हुन सक्छ । विवादहरू हुन सक्छन् । कहिलेकाहीँ चालु बैठकलाई रोक्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘लोकतन्त्रमा त्यसो गरिन्छ कि अनि पुलिस लगाएर शासन गर्ने कोसिस गरिन्छ ?’
उनले सरकारले प्रहरी परिचालन गरेर शासनको दम्भ देखाउन खोजेको आरोप लगाए । उनले प्रश्न गरे, ‘पुलिस लगाएर शासनको दम्भ देखाउने ?’ सांसद भट्टराईले अहिलेको गठबन्धनले विजयको उन्माद देखाइरहेको पनि आरोप लगाएका छन् ।
आइतवार बोलाइएको नगरसभा बैठक कांग्रेसबाट निर्वाचित मेयरले एकाएक स्थगित गरेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू आन्दोलनमा उत्रिएका थिए । मेयरले बैठकका लागि गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थागित गरेका थिए । आफूहरू ४८ जना जनप्रतिनिधि स–शरीर उपस्थित भएको अवस्थामा हाजिरी गर्न नदिएको एमालेको आरोप थियो ।
नगरसभा स्थगित गरेर मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायत छुट्टै छलफलमा जुटेपछि एमालेले आन्दोलन थालेको थियो । त्यसक्रममा डिएसपी ठगबहादुर केसीले एमालेबाट निर्वाचित तिलोत्तमा ४ का वडाध्यक्ष
हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएका थिए । यो समाचार लोकान्तरमा प्रकाशित छ।
प्रतिक्रिया