राजेन्द्र महर्जन
श्रावण २० ।आफ्ना स्वार्थ समर्थक नेतालाई देवता बनाइदेऊ, विरोधीलाई राक्षस। यो सूत्रवाक्य हो- तथ्य, प्रमाण र कार्य-कारण नखोतल्ने संस्कृति भएको समाजको।

विवेकलाई स्वार्थको पाउमा बन्धकी राखेर कसैलाई ‘गड’ र कसैलाई ‘डग’ बनाउने संस्कृतिबाट नेपाली समाज ग्रस्त छ। विगतमा प्रचण्डदेखि गिरिजाप्रसाद कोइरालालाई देवताजस्तै बनाउन खोजियो, जसले विवेक र आलोचनात्मकता होइन, अन्धता र दासता बढाएको देखियो।

देवत्वकरणकै एउटा पाटो हो, आफ्नो स्वार्थविरोधीलाई राक्षसीकरण गर्ने प्रवृत्ति। शत्रु, विरोधी र प्रतिस्पर्धीलाई जनताका आँखामा राक्षस बनाऊ अनि जनमानसमा बस्ने राक्षसको भयलाई दुहेर स्वार्थसिद्धि गर।

यही सूत्रको प्रयोग अचेल माओवादी अध्यक्ष प्रचण्डमाथि पनि गरिँदैछ। यसकै उदाहरण हो, प्रचण्डलाई कम्बोडियाका पूर्वप्रधानमन्त्री पोलपोटका रुपमा प्रस्तुत गर्ने अभियान। प्रचण्डको अनुहारमा पोलपोटको डरलाग्दो मखुन्डो भिराएर जनमानसमा त्रास सञ्चार गर्नु अनि त्यही त्रास दुहेर स्वार्थसिद्धि गर्नु यस अभियानको अभीष्ट हुनसक्छ।

भय-दोहनकै क्रममा वामपन्थी-वृत्तलाई पोलपोटको प्रेतका रुपमा चित्रण गर्ने काम न पहिलो हो, न अन्तिम। अहिले माओवादीलाई ‘खमेर रुज’ (लाल खमेर)का हकवाला र प्रचण्डलाई खमेर रुज नेता पोलपोटका नातेदारका रुपमा प्रस्तुत गरिँदैछ।

पोलपोटले खमेर रुजको शासनकालमा दसौँ लाख कम्बोडियालीको हत्या गरेको र जघन्य अत्याचार गरेको प्रचारलाई पनि ऐतिहासिक सत्यकै रुपमा स्थापित गर्न खोजिँदैछ। यसैक्रममा प्रचण्डले पोख्ने आक्रोशमा त्यस्तै अत्याचार र नरसंहार गर्ने नियतको झलक पाइएको प्रचार पनि गरिँदैछ।

म न पोलपोटका अन्ध-समर्थक हुँ, न त प्रचण्डकै अन्धविरोधी। तर, समग्र वामपन्थलाई सिकार गर्न थालिएको यस्तो प्रचारबाजीमा निहित स्वार्थजन्य अन्धता र गोयबल्स शैलीको पोपोगाण्डाको भने विरोधी हुँ।

त्यसैले मेरो मनमा प्रश्न उठेको छ, आफ्ना स्वार्थका विरोधी हुँदैमा माओवादी र प्रचण्डलाई खमेर रुज र पोलपोटसँग तुलना गर्नु उचित होला? म खमेर रुजको शासनकालमा कम्बोडियाली जनतामाथि कुनै अत्याचार भएन भन्ने पक्षमा छैन। न त प्रधानमन्त्री पोलपोटका खमेर रुज छापामारबाट कोही मारिएनन् भन्ने पक्षमै छु।

तर, मेरो मस्तिष्कमा उठेको सबाल के हो भने अमेरिका र अमेरिकी समर्थन-प्राप्त शासनविरुद्ध युद्ध गर्दै क्रान्तिबाट सत्तासीन खमेर रुज नरसंहारकारी आन्दोलन नै थियो र?

दसौँ लाख कम्बोडियालीको हत्या गर्ने नरसंहारकारीका रुपमा बदनामीको विशाल भारी बोकाइएका खमेर रुजले ४४ महिनाको छोटो शासन अवधिमा महिनाको २५-३० हजारका दरले मान्छे मारेका होलान् त?

प्रमाण र विवेकबिनाको प्रचारबाजीले मेरो मन-मस्तिष्कमा प्रश्न उठाएको छ: ‘किलिङ फिल्ड्स’ (बधशाला)का रुपमा कुख्यात कम्बोडियाको रक्ताम्य इतिहासमा खमेर रुजलाई मात्रै किन नरसंहारकारीका रुपमा बदनाम गरियो? के कम्बोडियामाथि सन् १८६३ देखि १९५३ सम्म शासन चलाउने फ्रान्सले अहिंसा र शान्तिले भरिपूर्ण भू-स्वर्ग बनाएको थियो?

लगभग सय वर्षको औपनिवेशिक शासनबाट मुक्तिपछि राजकुमार नरोद्दम सिंहानुकले चलाएको दुई दसक लामो राजतन्त्रले ‘बुद्धिस्ट सोसलिज्म’ निर्माण गरेको थियो? सन् १९७० मा सिंहानुकको राजतन्त्रलाई सैनिक बल र अमेरिकी बुद्धिका आधारमा कु देताँद्वारा फ्याक्ने प्रधानमन्त्री तथा सेनापति लोननोलले राजधानी नोम्हपेन्हमा गरेको हजारौं भियतनामी शरणार्थीको हत्या के नरसंहार थिएन? लोननोललाई अर्ती र अस्त्रको कोसेली दिने अमेरिकाले दसौँ वर्षसम्म सैन्य अभियान चलाउँदा कीराफ्ट्याँग्रामात्रै मारिएका थिए?

खमेर रुज र पोलपोटलाई मात्रै नरसंहारकारी देख्ने अन्धताग्रस्त व्यक्तिहरूले बेवास्ता गर्ने पक्ष हो: कम्बोडियामा औपनिवेशिक र नवऔपनिवेशिक शासन चलाउने फ्रान्सदेखि अमेरिकाले चलाएको नरसंहार, सिंहानुकको राजतन्त्र र लोननोलको सैन्य शासनले थोपरेको हिंसा र आतंकको ताण्डवनृत्य।

त्यसबेला मारिएका लाखौँ कम्बोडियालीको रगत पनि ‘शान्तिका लागि’ दिइएको रक्तदान होइन। त्यतिखेर जलेका गाउँबस्तीबाट सहरतिर लखेटिएका र खुट्टा दुईतिर फटाएर शरीरै च्यातिएका हजारौँ गाउँलेलाई पनि ‘लोकतन्त्रका लागि’ बलि दिइएको पक्कै होइन। अमेरिकाले भियतनाम र लाओसमा जस्तै कम्बोडियामा कम्युनिष्ट सखाप गर्ने नाममा गरेको भिषण बमवर्षा र नरसंहार पनि ‘शान्ति र लोकतन्त्रको आवरण’ दिइनाले पवित्र भएको होइन। तर, यस्ता नरसंहारको दुःखद् इतिहास चटक्कै बिर्सन्छन् हाम्रा प्रजातान्त्रिक नेताहरू।

उनीहरूले कहिल्यै उच्चारणसमेत नगर्ने इतिहास हो, अमेरिकाले १८ मार्च १९६८ बाट थालेको गोप्य बमवर्षा, हवाई सेना र स्थल सेनामार्फत् गरेको कार्पेट बम्बिङ। त्यस्तै १८ मार्च १९७० मा सिआइएमार्फत् सिंहानुकको राजतन्त्रविरुद्ध गरिएको सैनिक विद्रोह सफल भएपछि खमेर रुज छापामार र खमेर रुज समर्थक गाउँलेमाथि गरिएको हिंसा र दमनबारे पनि उनीहरू बोल्नै चाहँदैनन्। उनीहरूले मुख खोल्नै नचाहे पनि ‘जनरल अकान्टिङ अफिस’ले खोलेको कटु तथ्य हो: खमेर रुज र सिंहानुकवादी सैनिकको प्रतिरोध नष्ट गर्न १९७० को आधा दसकसम्म गरेको भीषण बमवर्षा, असंख्य नागरिकको संहार, गाउँबस्तीको विनाश अनि ७० लाख जनसंख्या भएको देशमा ३० प्रतिशत जनतालाई आन्तरिक शरणार्थीका रुपमा सहरतिर खेद्ने अभियान। खमेर रुजले सहरबाट गाउँतिर मान्छे लखेटेको आरोपमात्र लगाउँदै खेदो खन्नेहरू यो तीतो इतिहासबारे किन मौन छन्?

अमेरिकी विद्वानद्वय नोम चोम्स्की र एडवर्ड एस. हर्मनले ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट’मा गरेको विश्लेषणअनुसार तोपको आक्रमण र बी ५२ विमानद्वारा गरिने बमवर्षाबाट धेरै संख्यामा कम्बोडियाली शरणार्थी बन्ने र मृत्युको मुखमा पुग्ने काम भयो। फिनिस इन्क्वायरी कमिसनको अनुसन्धान र सिआइएको आँकलनअनुसार ६ लाख मानिसको हत्या भयो र २० लाख मानिस शरणार्थी भए। अमेरिकाद्वारा इन्डो-चाइना युद्धको क्रममा नियोजित र व्यवस्थित रुपमा गरिएको कम्बोडियाको विनाशकै जगमा अमेरिकाद्वारा थोपरिएको हिंसाचार र लोननोलको सैन्यवादी शासनको आतंकविरुद्ध विकल्पको रुपमा उदायो खमेर रुज। कम्बोडिया मामिलाका विज्ञ मिसेल भिकरीका अनुसार सिंहानुकको राजतन्त्रकालमा सानो छापामार समूहको रुपमा क्रियाशील खमेर रुज अमेरिकी हिंसा र आतंकको सिकार भएको भित्री कम्बोडियाका लाखौँ किसानको बलमा सशक्त छापामार आन्दोलनको रुपमा फैलियो।

सन् १९७० को दसकको आधाआधीतिर पुग्दा अमेरिकी आक्रमण र गृहयुद्धको विस्तारका कारण गाउँवस्ती खण्डहरमा, जंगल र जमिन मरुभूमिमा र नोम्हपेन्हजस्ता सहर ‘हरर च्याम्बर’मा फेरिए अनि वार्षिक १ लाख मानिस भोकका कारण मर्ने मुलुकमा बदलियो कम्बोडिया। अन्ततः अप्रिल १९७५ मा अमेरिका र लोननोललाई पराजित गर्दै प्रधानमन्त्री पोलपोटको नेतृत्वमा सत्तासीन भएको खमेर रुजको क्रान्तिसामु थियो, ध्वस्त कम्बोडिया। त्यसमाथि क्रान्तिको क्रममा आधार र तयारीबिना साम्यवादतिर छलाङ मार्ने नाममा अनेक गल्ती, कमजोरी र अपराध पनि भए, तर ती स्वर्गतिर जान खनिएका नर्कका बाटाजस्तै भए।

भिकरीको अध्ययनअनुसार, युद्धमा विजयी भएपछि खमेर रुज शासनकालको सुरुमा नोम्हपेन्ह र अन्य सहरबाट जनतालाई गाउँगाउँ फिर्ता पठाइयो, जसले आमजनतामा आतंक नै फैलियो। त्यसपछि पनि फैलियो खमेर रुज आतंक। यसरी फैलिनुमा अमेरिकी आक्रमण हुने त्रास, प्रतिक्रान्ति हुने भय र प्रतिशोधको भावले काम गरे। भिकरीका अनुसार पहिलेका देशी-विदेशी शक्तिबाट भएका अमानवीय हत्या र आतंक देख्ने-भोग्नेहरू नै छापामार बनेका थिए। त्यसैले उनीहरूले लोननोलको सेनालाई निर्ममतापूर्वक मारेको हुनसक्छ, अन्धतापूर्वक बदला लिने क्रममा। तर जेजस्तो कारणबाट गरिएको भए पनि त्यस्ता हत्या र आतंक स्वीकार्य र न्यायोचित हुन सक्दैनन्। यसको अर्थ दसौँ लाख मानिसलाई योजनाबद्ध ढंगले मारिएको प्रचारमा सत्य छ भन्न खोजेको होइन। यस्तो प्रचारबाजीको जालो बुन्ने र भयदोहन गर्ने दुष्कर्ममा अमेरिकाद्वारा प्रायोजित दक्षिणपन्थीदेखि ‘वामपन्थी’ मस्तिष्कको प्रयोगलाई अस्वीकार गर्न सकिँदैन।

हुन त यस्ता प्रचारबाजी गर्न र भयदोहन गर्न पल्केकाहरूले प्रचण्ड र पोलपोटलाई जोडेर विदेशी हस्तक्षेपविरोधी संघर्षलाई पनि लाञ्छित गर्न खोजेका छन्। देशभक्तिको भावविहीनताका क्रममा उनीहरूले कम्बोडियामा फ्रान्स, जापान, अमेरिका र पछि भियतनामले सन् १९७९ देखि गरेको सैन्य आक्रमणलाई स्वागत गरेको देखिन्छ, परोक्षरुपमा। त्यस्ता आक्रमण र हस्तक्षेपको विरोधमा भएका संघर्षलाई मूर्खतापूर्ण राजनीति साबित गर्न खोज्दा उनीहरूले आफ्नो प्रजातान्त्रिक मुखुन्डो खसेको पनि भेउ नपाउनु लज्जास्पद पक्ष हो। कुनै पनि खालका सैन्य आक्रमण वा अन्य हस्तक्षेपको विरोधमा हुने संघर्ष नकार्ने प्रवृत्ति प्रजातान्त्रिक र देशभक्त चरित्र हुन सक्दैन।

पोटपोटको आतंकको प्रचार गर्ने निहुँमा सिंगो वामपन्थविरुद्ध जेहाद छेड्दै हिँडेका प्रजातन्त्रवादीहरूले अमेरिका-भक्तिलाई देशभक्तिको मानक सम्झेका हुन सक्छन्। त्यसो हो भने अमेरिकाका हरेक सैन्य हस्तक्षेप र अप्रजातान्त्रिक कदमप्रति उनीहरूले आँखा चिम्ले भने पनि अनौठो हुँदैन।

सबैलाई हेक्का रहोस्, शीतयुद्धकालमा सोभियत संघको खेमामा रहेको र इन्डो-चाइना वारमा बेइज्जत हुनेगरी आफूलाई पराजित गरेको देश: भियतनामविरुद्ध लड्न अमेरिकाले सन् १९७९ देखि दसौँ वर्षसम्म खमेर रुज र पोलपोटसँगै सहकार्य गरेको थियो। खमेर रुज र पोलपोटको उपयोगिता समाप्त भएपछि अमेरिकाले उनीहरुलाई राक्षसका रुपमा प्रचार गर्ने क्रममा नरसंहार र अत्याचारको मुद्दा उठाएको हो। फेरि पनि प्रश्न उठ्छ: खमेर रुज र पोलपोट नरसंहारकारी थिए भने अमेरिका मात्रै कसरी शान्तिकामी र लोकतन्त्रवादी भयो? प्रजातान्त्रिक खेमाले ऐतिहासिक साक्षी-प्रमाणका साथ यसको जवाफ दिनुपर्छ।
प्रकाशित: १३ असार २०६७ ०३:३० आइतबार नागरिक नेटवर्कबाट साभार