मंसिर ४ मा हुन गईरहेको  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालयले मतदान स्थल र मतदान केन्द्र थप गर्ने तयारी गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय रामेछापले आगामी   मंसिर ४ मा हुन गईरहेको निर्वाचनका लागि पाँच वटा मतदान स्थल र मतदान केन्द्र थप  गर्न निर्वाचन आयोगमा सिफारीस गरेको छ ।

रामेछापका जिल्ला निर्वाचन अधिकारी मधुकरकुमार शाहले साविक कायम रहेको ९२ वटा मतदान स्थल र २२३ मतदान केन्द्रमा पाँच थप गरी ९७ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र बनाउका लागि निर्वाचन आयोग नेपालमा सिफारीस गरिएको बताउनुभयो ।

“आठ वटा मतदान स्थलको नाम संसोधन गर्न, पाँचवटा मतदान केन्द्रलाई फुटाएर दस वटा बनाउने गरी र चार ओटा लाई ठाउँ सार्न निर्वाचन आयोगमा सिफारीस गरेका छौँ “शाहले भन्नुभयो ।

शाहका अनुसार खाँडादेवी गाउँपालिका–१ राकाथुम वडा कार्यालयमा रहेको मतदान स्थललाई राकाथुम माध्यामिक विद्यालय, खाँडादेवी गाउँपालिका–५ पकरबास आधारभूत विद्यालय राम्चेमा रहेको मतदान स्थललाई वडा कार्यालय भवन भिमस्थानमा सार्न सिफारिस गरिएको छ ।

रामेछाप नगरपालिका–३ साँघुटारको कालिका ईश्वरी आभारभूत विद्यालयमा बाँकीमैरीमा रहेको मतदान स्थललाई वडा कार्यालय भवन साँघुटारमा र रामेछाप नगरपालिका–९ मा भिमसेनस्थान मन्दिरमा रहेको रहेको मतदान स्थललाई भिमेश्वर आधारभूत विद्यालय ल्याङल्याङमा सार्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

मतदातालाई अपायक पर्ने र ठाउँ अप्ठेरो भएका मतदान स्थलहरुलाई ठाउँ परिवर्तन गर्न सिफासिर गरिएको जिल्ला निर्वाचन अधिकारी शाहले बताउनुभयो ।

अहिले निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलनको काम रोकेर अध्यावधिकको काम गर्ने तयारी भैरहेको शाह बताउनुभयो ।

वैशाख ३० गते सम्पन्न स्थानीय  निर्वाचनमा रामेछापका कूल एक लाख ७८ हजार ८६७ जना मतदाता थिए भने  एक लाख १७ हजार २४२ जनाले मतदान गरेका थिए ।