वीर अपस्तालको एक घटनाले अहिले सामाजिक सञ्जाल रङ्गिएको छ । एकजना बिरामीको पित्तथैलीको अप्रेसन गर्दा दाँत निकालिदिएको भनेर निकै आलोचना भइरहेको छ ।
वास्तविक कुरै नबुझी अधिकांशले डाक्टरलाई गाली गरिरहेको वीर अस्पताल र चिकित्सकको बताएका छन् ।
५० वर्षीया महिलाको अप्रेसन साउन ३१ गते भएको थियो । पित्तथैलीको अप्रेसन गर्ने क्रममा महिलाको अगाडिका ३ वटा दाँत झर्न पुगे।
पित्तथैलीको अप्रेसन गर्नुपर्नेमा लापरवाही गरेर डाक्टरले दाँत निकालिदिएको आरोप बिरामीका आफन्तले लगाएका छन्। उनीहरूले लापरवाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने माग समेत गरेका छन्।
आफन्तको यस्तो आरोपपछि सामाजिक सञ्जालमा वीर अस्पताल र डाक्टरमाथि गालीको वर्षा भइरहेको छ ।
अस्पतालले उपचारमा कुनै लापरवाही नगरेको वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले बताउनुभएको छ । ती बिरामीको पित्तथैलीको अप्रेसन सफलतापूर्वक भएको उहाँले जानकारी दिनुभयो।
अप्रेसनका क्रममा आइपर्ने जटिलताको जोखिमलाई कम गर्न खोज्दा यस्तो दुर्घटना भएको उहाँले स्पष्ट पार्नुभएको छ ।
चिकित्सकको अनुसार पित्तथैलीको अप्रेसन गर्दा बिरामीलाई बेहोस बानाएर भेन्टिलेटरमा राख्नुपर्छ । बेहोस बनाउने क्रममा इन्टुबेशन(मुखबाट श्वासनलीमा पाइप राखी भेन्टिलेटरबाट क्रृतिम सास फेराउने प्रक्रिया) गर्नुपर्ने हुन्छ ।
त्यसका लागि घाँटीबाट पाइप हाल्नुपर्छ । बिरामीको घाँटीको बनावट असहज भएकाले घाँटीमा पाइप हाल्ने क्रममा यस्तो दुर्घटना भएको चिकित्सकको भनाइ छ।
इन्टुबेशन गर्ने क्रममा ल्यारिङस्कोपी उपकरणले लागेर दाँत खुस्किएको पाइएको डा.बस्नेतले बताउनुभयो । यस्तो उपचार गर्दा केही बिरामीमा यस्तो समस्या आउने गर्छ ।
उपचारका क्रममा हुने यस्ता घटना सामान्य भएको डा.बस्नेत बताउनुहुन्छ ।
कहिलेकाँही बिरामीलाई थप जटिलताबाट जोगाउन खोज्दा यस्ता दुर्घटना हुन्छन्’ डा.बस्नेत भन्नुहुन्छ, ‘यसलाई ठूलो इस्यू बनाएर सर्वसाधारणमा भ्रम छर्नु हुँदैन।’
डा.बस्नेतका अनुसार अप्रेसन गर्दा नगन्य बिरामीको मृत्यु हुने, केहीको दाँत खुस्किन सक्ने, अप्रेसनपछि घाउ पाक्न सक्ने सम्भावना हुन्छ।‘अप्रेसनका सबै केस जटिल नै हुन्छन् । यसबारे अप्रेसन पहिले बिरामी र बिरामीका आफन्तलाई जानकारी गराइएको हुन्छ’ डा.बस्नेत भन्नुहुन्छ, ‘सडकमा गाडी,बाइक चलाउँदै गर्दा पनि दुर्घटना हुन्छ । जानीनजानी सवारी अर्काकोमा ठक्कर खान्छ । यो पनि एउटा त्यस्तै दुर्घटना हो।’
यो एक दुर्घटना हो बिरामीको दाँत हालिदिन्छौँ भन्दा पनि अनावश्यक हल्ला फैलाएको उहाँको भनाइ छ ।
‘यो दुर्घटना होनि दाँत खुस्क्यिो त के भयो ? बिरामीको मृत्यु भएको त छैन नि ? डा.बस्नेत प्र्रश्न गर्नुहुन्छ । बिरामीको अप्रेसन सफल भएको र अहिले अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो।
वीर अस्पताललाई बद्नाम गर्न र बिरामीलाई निजीमा लैजान पल्केका केही मान्छेले यो सामान्य घटनालाई उचालेको आरोप डा.बस्नेतले लगाउनुभयो।
‘निजीमा लगेर कमिसन खाने केही व्यक्तिका कारण यो सामान्य घटनालाई भ्रमित बनाइयो’ बस्नेत भन्नुहुन्छ, कमिसन खोरबाट परिचालित व्यक्तिहरु वीरको बेइज्जत गरेर बिरामीलाई निजीमा लगेर उपचार गर्ने दाउ गरिरहेका छन्।’
उपचार प्रक्रियामा यस्ता घटना सामान्य भएको र उपचारमा कुनै लापरवाही नभएकाले भ्रममा नपर्न उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभयो।
लामो सयमदेखि एनेस्थेसियोलोजिस्ट(अप्रेसनका लागि बिरामीलाई बेहोस बनाउने) काम गर्दै आउनुभएका एक डाक्टरले पनि यस्ता घटना सामान्य भएको बताउनुभयो।
‘यस्ता घटना हुन्छन्, सावधानीका बाबजुद बिरामीको मृत्यु हुन पनि सक्छन्’ ती डाक्टर भन्नुहुन्छ, ‘अप्रेसनको जोखिमबारे बिरामी र आफन्तलाई त्यसको जोखिमबारे जानकारी दिइएको हुन्छ, दिनैपर्छ।’
उपचारको जटिलता र वास्तविकता नबुझी हल्लाको पछि लागेर चिकित्सकलाई गाली नगर्न उहाँको सुझाव छ।
प्रतिक्रिया