चीनकी एक महिलाले आफ्नो तीनवटा करङ भाँचिदिएको भन्दै आफूसँगै काम गर्ने सहकर्मी विरुद्ध मुद्दा दर्ता गरेकी छिन् । उनको सहकर्मीले अँगालो हालेका कारण उनको करङ भाँच्चिएको महिलाको दावी रहेको छ ।
यो घटना मे २०२१ मा घटेको थियोे । चीनको हुनान प्रान्त युयाङ शहरकी एक महिला आफ्ना सहकर्मीसँग कुरा गरिरहेकी थिइन् । त्यति नै बेला उनका एक पुरुष सहकर्मी अचानक आइपुगे र उनलाई अभिवादन स्वरुप अँगालो हाले । अँगालो हाल्दा उनलाई दुखेपछि उनी कराएकी पनि थिइन् । ती व्यक्तिले उनलाई यति दह्रोसँग अँगालो हालेका थिए कि उनलाई अफिसबाट फर्किएर घर पुग्दा पनि छाती दुखिरह्यो । तर उनी तत्काल अस्पताल गइनन् । मालिस तेल लगाइन् र सुतिन् ।
‘अल्ट्रा टाइट’ अँगालो हालेको पाँच दिनपछि ती महिलाको छाती दुख्न थाल्यो । उनी अस्पताल नगई बस्न सकिनन् । एक्स रे गरेर हेर्दा उनको एउटा मात्रै नभई तीनवटा करङ भाँच्चिएको पत्ता लाग्यो ।
दुईवटा दाहिने पट्टी र एउटा देब्रे पट्टी । छाती दुखेपछि उनी बाध्यतावश घर बस्नुपरेको, घर बस्दा कमाई नभएको र मेडिकल बिल र नर्सिङ सेवाका लागि राम्रै रकम खर्च भएको उनले बताएकी छिन् ।
उनी निको हुने क्रममा करङ भाँचिदिने पुरुष सहकर्मी उनलाई भेट्न गए । त्यतिबेला यी दुईले कुरा मिलाउन खोजे तर कुनै कुरामा सहमति हुन सकेन र कुरा बिग्रियो ।
आफ्नो आत्मीय अँगालोले नै महिलाको करङ भाँच्चिएको कुनै पनि प्रमाण नभएको भन्दै ती पुरुष सहकर्मीले निहुँ खोज्न थाले ।
तसर्थ ती महिलाले आफ्ना सहकर्मी विरुद्ध युयाङ सिटीस्थित युनजी अदालतमा मुद्दा दर्ता गरिन् । अँगालो हालेपछि करङ भाँच्चिएको र यसका कारण आफूले आर्थिक घाटा वहन गर्नुपरेको भन्दै क्षतिपूर्तिको मागदाबी गरेकी छिन् ।
मुद्दाको सुनुवाईको क्रममा ती पुरुषलाई न्यायाधीशले १५ सय डलर क्षतिपूर्ति प्रदान गर्न आदेश दिए ।
करङ भाँच्चिएको भनेर पाँच दिनपछि पत्ता लागेपनि त्यो अवधिमा महिलाले हड्डी भाँचिन सक्ने कुनै पनि गतिविधिमा भाग लिएको प्रमाण नभएको अदालतले जनाएको छ । यसका साथै, अँगालो हालेपछि महिलाको पीडादायी प्रतिक्रियाबारे अन्य सहकर्मीले अदालतमा बयान दिएका थिए ।
यो घटनाले चिनियाँ सामाजिक सञ्जालमा बहससमेत सुरु गरेको छ तर अधिकांशले महिलाको अवस्थाप्रति सहानुभूति व्यक्त गरे र साथीभाइ – सहकर्मीलाई अभिवादन गर्दा सतर्क रहन पनि सुझाए ।
प्रतिक्रिया