तिजको दर खाएर एउटै गाउँका एक सयभन्दा बढी मानिस बिरामी परेका छन् ।

गोरखा नगरपालिका–७गोरखा मान्द्रेढुङ्गामा तिजको दर खाएपछि  एक सयभन्दा बढीको सङ्ख्यामा मानिस बिरामी परेका छन् ।

वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार दर खाएका अघिकांश बिरामी परेका छन् । कृष्ण जन्माष्टमीका दिन स्थानीयहरु मिलेर तिजको दर खाएका थिए । बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।

बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उहाँले बताउनुभयो । बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै  गएका छन् । केहीलाई अझै घरमै स्लाइन पानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिनुभयो ।

बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको उहाँले बताउनुभयो । बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ।