१६ भदौ सिन्धुली। केही व्यक्ति पार्टी छाडेर जाँदैमा कुनै फरक नपर्ने नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सिन्धुलीका इन्चार्ज राजन दाहालले बताएका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य मिथुला फुयाल, सिन्धुली जिल्ला संयोजक रामकुमार पौडल, माओवादी केन्द्रका मरिण गाउँकमिटी अध्यक्ष गोपाल बुढाथोकी लगायतका नेता तथा कार्यकर्ताले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
वैशाखमा सम्पन्न स्थानीय निर्वाचन पश्चात् माओवादी केन्द्र सिन्धुलीले बुढाथोकी र पौडेललाई कारबाही गरिसकेको इन्चार्ज दाहालले बताएका छन् ।
उहाँका अनुसार निर्वाचनको समयमा पार्टीलाई असहयोग गरेको र पार्टी विपरीतको गतिविधि गरेको भन्दै बुधबार एमालेमा प्रवेश गर्ने नेताहरूलाई कारबाही गरिएको बताएका छन् ।
“एमालले टिकट दिन्छु भन्ने जस्ता प्रलोभन देखाएपछि जानु भएको हो, त्यो उहाँहरूको विद्रोह होइन, विचलन हो,” इन्चार्ज दाहालले भन्नुभयो, “पार्टीले पहिला नै कारबाही गरिसकेको छ, विचारमा, संगठनको कार्यविभाजन, भूमिकामा असहमति राखेर जानुभएको भए फरक कुरा हुन्थ्यो तर जिल्ला संयोजक अनि स्थानीय निर्वाचनमा एमालेलाई भोट माग्ने साथीहरू जानुभएको छ यसमा पार्टीको कुनै पनि आपत्ति छैन ।”
प्रतिक्रिया