१२ असोज । बाजुराको एक मन्दिरमा दलित प्रवेश गरेको भन्दै कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको हो।
वडाध्यक्ष अयडी नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन्।
त्रिवेणि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध बिहीवार जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिएका छन् ।
घटनामा संलग्न वडाध्यक्षलाई नियन्त्रणमा लिइएको र फरार रहेका पाध्याय र अयडीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटस्थापनाका अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका ५ नुवाघर घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनारमाथि वडाध्यक्ष अयडीसहितको समूहले ‘तँ डुमले नवरात्री पूजा गर्न पाइँदैन’लगायतका कानूनले बर्जित गरेका शब्द प्रयोग गरि कुटपिट तथा जातिय रुपमा विभेद गरेका थिए।
जातीय विभेद तथा छुवाछुत भेदभाव गर्ने जो सुकैलाई पनि कानुनी कारबाही हुनुपर्ने जिल्लाका दलित अगुवाले माग गरेका छन्।
प्रतिक्रिया