नेपाल र नेपालीको एक समय निकै त्रासदीपुर्ण र भयावह स्थितिमा व्यतीत भएको थियो। राणाकालीन त्यस समयमा नेपालीले नत मन लागेको बोल्न सक्थे नत मन लागेको लाउन पाउथे। नेपालीले मनलागेको कुरा समेत खान पाउने अवस्था थिएन। यदि यसो गरेको राणाहरुले थाहा पाए भने विभिन्न वहानामा मानिसलाई कत्लेआम गर्ने काम गरिन्थ्यो।
राणाहरुको ज्यादतीदेखि वाक्क भएर केही युवाहरु एक जुट भएर विरोधको ज्वाला काठमाडौ उपत्यकामा दन्काए। राणाले बिरोधलाई निमिट्यान्न बनाउन कुनै कसर वाँकी राखेनन। फलस्वरूप चार जना युवाले आफुलाई बलिदान गर्नु पर्यो। तिनै चार जना युवामध्ये सबैभन्दा कम उमेरका युवा थिए गंगालाल ।
१९९७ श्रावण ११ गते शुक्रबार गोरखापत्रमा एक इस्तिहार प्रकाशित भयो। प्रजा परिषदको बारेमा सुचना दिनेलाई मोरु ५००० दिने उल्लेख गरिएको सूचना थियो।
सो सूचना प्रकाशित भएपछि काठमाडौ उपत्यकामा आतंक मच्चियो। सर्वसाधारण जनता पनि घरबाट निस्कन छाडे । प्रजा परिषदका सदस्यहरु समेत भुमिगत भए तर उनीहरूले आफ्नो काम गर्न छाडेनन् । श्रावण १७ र भाद्र २४ गते पर्चा छापेर टोलटोलमा बाँडे।यो पटक झन कडा रुपमा राणाहरुको बिरोध गरिएको थियो।
यस कार्यले राणाहरु अझ कठोररुपले प्रस्तुत हुन थाले। यहि समयमा प्रजा परिषदका एक सदस्यले प्रजा परिषदको बारेमा भण्डाफोर गरिदिए।
१९९७ कार्तिक २ गते एक अप्रत्याशित घटना घट्न गयो। मानिसहरु आफ्नो आफ्नो काम गरिरहेका थिए । पुलिसको ४०/५० जनाको एक टुकडी एका बिहानै ओम वहाल ,पक्नाजोल ,लगनटोलतिर हानिएर पस्यो ।शंकास्पद लागेको घरका कोठा कोठामा प्रहरीले छापा मार्न थाल्यो। छापा मारिएका घरको वरिपरि कसैलाई जान दिईएन। छापा मारिएको घरमा कोहि भित्र छिरीहालेमा बाहिर निस्कन दिइएको थिएन। यसरी चारैतिर गरिएको घेराबन्दीले टोल समाज आतंकीत बन्न पुग्यो।
यसरी राणाहरुका सिपाहीले करीब ५०० जनालाई आफ्नो नियन्त्रणमा लिएका थिए । पक्राउ पर्नेमा धर्मभक्त माथेमा ,शुक्रराज शास्त्री,दशरथ चन्द ,रामहरि जोशी ,जगतमान,सिद्दीचरण श्रेष्ठ ,गोविन्दप्रसाद उपाध्य लगाएतका थिए।गंगालाल श्रेष्ठ भने सोही विहान झोँसेका हरीकृष्ण श्रेष्ठको घरमा आएका थिए।
प्रहरीले प्रजा परिषदका सदस्यलाई खोजीखोजी पक्राउ गरीरहेको खबर गंगालाल श्रेष्ठलेपनि थाहा पाए। यो खबरले गंगालाल श्रेष्ठ आफन्त, साथीभाइ र शुभचिन्तकहरु डराए। उनीहरूले गंगालाल श्रेष्ठलाई भारततिर भाग्न सल्लाह दिए।तर गंगालालले श्रेष्ठ उक्त कुरा मानेनन् र स्वयं प्रहरीकोमा गएर गिरफ्तारी दिए।
उनको गिरफ्तारीको लगत्तै नेल र सिक्रीले बाधेर उनलाई सिंहदरबारमा लगियो। प्रजा परिषदका अध्यक्ष टंकप्रसाद आचार्य भने भारतमा रहेका कारण पक्राउ पर्नबाट जोगिए तर राणाहरुले उनको पिता सिकिस्त भएको खबर उनीलाई पठाएर एक जाल फाँके। पिता बिरामी भएको झुठो खबर थाहा पाएर उनी काठमाडौ आए र उनलाई पक्राउ गरियो।
यसरी प्रजा परिषदका प्रायः सबै सदस्यलाई पक्राउ गरेपछि शङ्खर शम्सेरको नेतृत्वमा एक केरकार समिति गठन गरियो। उक्त समितिमा कर्णेल गंगा बहादुर बस्नेत ,मेजर बालकृष्ण शम्सेर,प्रहरी प्रमुख नर शम्शेर गुरु खगेन्द्रराज र सरदार मान बहादुर सहिद १२ जना थिए ।
केरकार समिति गठन पश्चात् पक्राउ गरिएकालाई चरम यातना दिन थालियो । केरकार समितिले ७६ जना बाहेकलाई सामान्य कागज गराई घर जान दियो र ७६ जनालाई सिहदरवारको एक घरमा राखियो।गंगालाल र दशरथ चन्दलाई एउटै कोठामा राखियो।
हरेक कोठामा ५/५ जनाको दरले सिपाही र एक पहरेदार राखिएको थियो। बन्दीलाई एक आपसमा बोल्न दिईएन । पिसाब फेर्न जाँदा समेत सिपाही सँगै जाने व्यवस्था गरिएको थियो।
पकाउ गरेको भोलिपल्ट एक जर्साप गंगालाल र दशरथ चन्द भएको कोठातिर गए। जर्सापले गंगालाल श्रेष्ठलाई एउटा अर्को कोठामा ल्याउन आदेश थिए। उक्त कोठामा एउटामात्र कुर्सी राखिएको थियो ।जर्साप उक्त कुर्सीमा थचक्क बसे र गंगालाललाई उनको अगाडी उभ्याईयो।
केरकार गर्दा गंगालालको शरीरबाट एउटा केही लेखिएको कागजको सानो टुक्रा फेला परेको थियो। जर्सापले उक्त कागजमा लेखिएको बारे सोधपुछ गर्न थाले।
गंगालालले भारतबाट प्रकाशित हुने जनता नामको एक साप्ताहिक पत्रीकामा छापिएको कुरा आफुले सारेको जवाफ दिए। भर्खर युवा अबस्थामा प्रवेश गरेका गंगालाल श्रेष्ठलाई धम्काएर फकाएर सम्पुर्ण कुरा पत्ता लगाउने राणाहरुको योजना थियो। तर गंगालालले सो कागजको बारे एक शब्द बोलेनन् ।
जर्सापले गंगालाललाई साँचो कुरा बताए छोडिदिने बताए तर गंगालाल केही नबोली चुपचाप बसिरहे। रिसले क्रोधीत बनेका जर्सापले आफ्नो हात तन्काएर गंगालालको गालामा बेसरी चट्काए। केही गर्दा टहसमहस नभएका गंगालाललाई जर्सापले बाँसमा झुण्डाएर पिडुलाको मासु झार्नु भन्ने आदेश सिपाहीलाई दिए। त्यसपछि मलिन स्वरमा आफुलाई थाहा नभएको कुरा कसरी भनु गंगालालले भने । जर्साप यो कुरा सुनेपछि अझ क्रोधीत भए र छेउमा रहेको एक सिपाहीको लठ्ठी खोसेर गंगालाललाई अन्धाधुन्ध पिट्न थाले।पिटाईका कारण गंगालाल त्यही ढल्न पुगे ।
के हेरिरहेका छौ ,यसलाई बासमा झुण्डाओ जर्सापले सिपाहीमाथि आफ्नो रिस पोखे। त्यसपछि गंगालालको हातखुट्टा बाधेर बासमा झुण्डाईयो। अत्याधिक पिटाईका कारण गंगालालको चिच्याईले सिहदरबार थर्किन थाल्यो।
नजिकै रहेको राणाका छोराछोरी पढ्ने स्कुलमा उनीहरुका छोराछोरीले थाहा पाउलान् भनेर गंगालाललाई बाहिर ल्याउन लगाईयो। त्यसपछि उनलाई घरपछाडी रहेको झाडीमा लगियो। कुट्न सम्म कुटेपछी उनको कन्चट लगाएत विभिन्न संबेदनसिल अङ्गका रौ उखेल्न थालियो ।
गंगालालको चिच्चावटले अझ उग्ररूप लियो। अत्याधिक दुखाईको कारण गंगालाल भन्छु भन्छु भन्दै कराउन थाले त्यसपछि जर्सापले सिपाहीलाई गंगालाल बाँसबाट निकाल्न आदेश दिए। गंगालाललाई केही आराम भयो तर ऊनी भुइँमा ढलिरहे । छिटो भन छिटो भन भन्दै जर्साप कराउन थाले। एक छिन पछि गंगालालले मुख खोले। सत्तो सत मलाई केही थाह छैन।
गंगालालको यो जवाफ सुनेपछि क्रोधीत बनेका जर्सापले सिपाहीलाई ठोक भने । त्यसपछि सिपाहीहरुले अन्धाधुन्ध कुट्न थाले। शरीरका विभिन्न ठाँउबाट निस्किएको रगतले उनको कमिज भिज्यो। उनी अर्धवेहोस हुन पुगे। यसरीनै उनको बाँकी ९३ दिन बित्न थाल्यो तर उनले केही भेद खोलेनन। पछि छुटेका केही बन्दीको भनाई अनुसार त्यो पिटाइ शब्दमा भन्न सकिने अबस्थाको थिएन।
राणा सरकारले पद्म शम्शेर,बबर शम्शेर केशर सम्सेर आनन्द सम्शेर र गुरु,काजी लगाएतको एक विशेष अदालत गठन गरेको नाटक मन्चन गर्यो।यहि विशेष अदालतले एक फैसला तयार पार्यो ।फैसला तयार भएपछि गंगालाल श्रेष्ठ लगाएतलाई पक्राउ परेको ९३ दिन पछि (१९९७ माघ ६) अन्तै लान कोठरीबाट बाहिर निकालियो। त्यसपछि नेल र सिक्रीमा जकडाएर सिंहदरवार भित्रको फुटबल मैदानमा लामबद्द गरियो। उक्त मैदान राजा त्रिभुवन युवराज महेन्द्र ,जुद्द शमशेर वडा गुरु हेमराज लगाएतको ठूलो जथ्थाले भरिएको थियो।
पक्राउ परेका ५०० जना मध्ये ७६ जनालाई दोषी ठहर गरिएको थियो। त्यसमध्ये गंगालाल ,शुक्रराज ,दशरथ र धर्मभक्तलाई सर्वस्व हरण सहित मृत्युदण्ड घोषणाको सजाय सुनाईएको थियो। अन्यलाई जातच्युत ,कपाल मुण्डन लगाएत अन्य सजाय सुनाईयो।
माघ १० गते शुक्रराज शास्त्री र माघ १२ गते धर्मभक्त माथेमालाई मृत्यु दण्ड दिईयो। सिद्दीचरण श्रेष्ठको अनुसार एक बन्दी चुब्ब नारायणलाई पनि फाँसीको सजाए सुनाईएको थियो।
उनलाई फाँसी दिन टुडिखेलको एक रुखमा सबै बन्दोबस्त मिलाएर माघ १४ गते लगियो तर उनलाई किन हो फाँसी दिईएन। १८ बर्षको जेल सजाय तोकिएर जेल पठाईयो।
माघ १४ गते राती दशरथ र गंगालाललाई भद्रगोल जेल लगियो। त्यहाँ दसरथ र गंगालालको परिवारलाई राणाले बोलाएर राखेका थिए। त्यहाँ गंगालाललाई आफन्तहरूसँग गफ गर्न दिइयो। त्यसपछि राति ११ बजे गंगालाल र दशरथलाई कडा सुरक्षाविच लहरीमा राखेर शोभा भगवती स्थित भँचाखुसी र बिष्णुमतीको सगम स्थलमा लगियो । त्यहाँ दुई वटा काठका खम्बा गाडिएको थियो। खम्बा गाडिएको स्थल बत्तीको उज्यालोले धपक्क बलेको थियो । सो स्थान मृत्यु दण्ड दिने मंच जस्तो गरि सजाएको जस्तो देखिन्थ्यो ।
मृत्यु दण्ड दिने दुई व्यक्तिले गंगालाल र दशरथलाई खम्बामा बेसरी बाधेर आँखामा पट्टी बाँधे। तत्कालीन प्रहरी प्रमुख नरसमशेरले मृत्यु दण्डको सम्पुर्ण प्रक्रिया पूरा गरेपछि फाँसी दिनेलाई अन्तिम ईच्छा के छ भनेर सोधपुछ गरे तर गंगालाल र दशरथले केही बोलेनन् ।
अन्तिममा प्रहरी प्रमुखले गंगालालतर्फ फर्कदै भने माफी माग्ने अन्तिम समय अझै वाँकी छ माफी माग ! चरम यातनाबाट पीडित गंगालाल चट्याङ पट्के जसरी कट्किएर भने मैले माफी माग्नु पर्ने के गल्ती गरेको छु र माफी माग्नु पर्यो। बरु तिमिहरुको अत्याचार सहेर बसेको हामीसँग तिमिहरुले माफी माग्नु पर्छ।
प्रहरी प्रमुख नरसमशेरले संयम हुँदै भने माफी माग तलाई मृत्यु दण्डको बदला आजिवन कारोबासको सजया हुन सक्छ ।
त्यसपछी गंगालाल भने बकस दिएको जीवन चाहिदैन। रिसले आगो भएका नरसमशेरले सबै सिपाईलाई बन्दुक तेर्साउन लगाए ।
यो देखेर दशरथले भने पहिलो गोलि गंगालाललाई दाग। किनकि त्यो केटो सानो छ मलाई गोली लागेको देख्दा डराउन सक्छ। तर नर समशेरले दशरथ चन्दलाई तीन गोलि ठोक्न लगाए ।उनको त्यही मृत्युु भयो।
माघ १४ गतेको मध्यरात कटिसकेको थियो। नरसमसेरले गंगालाललाई गोलि दाग्न सिपाईलाई अडर दिए। तर सिपाहीले गंगालाल गोलि दाग्न सकेनन् । त्यसपछि नरसमशेरले दशरथलाई गोली ठोकेका सिपाईलाई गोलि ठोक्न अडर दिए तर उनले ईन्कार गरेपछि क्रोधित भएका नरसमशेरले आफै हातमा पेस्तोल लिए। उनले पनि पहिलो गोलि गंगालालको घुँडामा दागे। पिडाले छट्पटी भएका गंगालालको बुढी औंला माटोमा हल्लिदै टक्क रोकियो र भने ए पापी सक्छ्स भने छातीमा गोली ठोक ।
नभन्दै नरशमसेरले पहिलो गोलि पेटमा र दोश्रो गोलि छातीमा हाने । त्यसपछि गंगालालको चिच्चावट रोकियो र उनको टाउको बिस्तारै खम्बामा अडेस लाउन पुग्यो। अन्ततः गंगालाल अमर बने तर उनको शरीर निर्जीव बन्यो ।यसरी २२ बर्षको उमेरमा गंगालालले राष्ट्रको लागी आफ्नो प्राणको आहुती दिए।
प्रतिक्रिया