१० वैशाख  काठमाडौ । नेपालमा जारी एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ मा यूएईले सिंगापुरलाई ४ सय ७२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ४ सय ७१ रन बनायो । उसका लागि वृत्य अरविन्द र कप्तान मोहम्मद वसिमले शतकीय पारी खेले । १३३ बलको सामना गरेका अरविन्दले १७ चौका र ७ छक्कासहित १७४ रन बनाए ।

जारी प्रतियोगितामा उनको यो दोस्रो शतक हो । अरविन्दले कुवेतविरुद्ध १८५ रनको इनिङ खेलेका थिए । त्यस्तै, सिंगापुरविरुद्ध वसिमले ८२ बलमा १६ छक्का र ९ चौकाको मद्दतमा १६० रन बनाए । अयान अफ्जल खानले ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रनको योगदान दिए । सञ्चित शर्माले अविजित १६, आर्यन लाक्राले १२ र आसिफ खानले ११ रन जोडे ।

सिंगापुरका लागि अद्वित्य भार्गवले ४ र रमेश कालिमुथुले ३ विकेट लिए । एसिसी प्रिमियर कपमा यूएईले दुई खेल खेल्दा एकमा जित र एक खेलमा हारको सामना गरेको छ । उसले पहिलो खेलमा कुवेतलाई १४३ रनले हरायो । तर, यूएईले दोस्रो खेलमा भने हङकङविरुद्ध ६७ रनको हार बेहोर्‍यो ।

जारी प्रतियोगिताको समूह समूह ‘बी’ मा यूएई, सिंगापुरसहित हङकङ, कुवेत र बहराइन तथा समूह ‘ए’ मा नेपाल, ओमान, साउदी अरेबिया, मलेसिया र कतार रहेका छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रिमियर कप च्याम्पियन टिमले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।