वैशाख ११ ,काठमाडौँ । नेपाल र साउदी अरेबियाबीच एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार हुने खेल वर्षाका कारण रद्द हुने स्थितिमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।
अघिल्लो दिनको साँझ वर्षाका कारण मैदान भिजेको कारण दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको थियो । बिहान ११ बजे देखि पुनः वर्षा भएपछि खेल नै नहुने अवस्था सिर्जना भएको हो । मूलपानीमा दिन भरी नै वर्षा हुने मौसम पूर्वानुमान छ ।
बिहान मूलपानी आएपछि नेपाल र साउदी अरेबियाका दुवै खेलाडीले मैदान निरीक्षण गरेका थिए । वर्षा पुनः सुरु भएपछि दुवै टोली पेभेलियन भित्र बसिरहेका छन् । दिउसो २.१५ बजेपछि पनि खेल हुने सम्भावना नभएमा म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले खेल रद्द भएको घोषणा गर्नेछन् ।
दुई ठूला प्रतिद्वन्द्वी मलेसिया र ओमानमाथि विजय हात पार्दै नेपाल समूह ‘ए’ मा मजबुत स्थितिमा रहेको छ । साउदीसँगको खेल रद्द भएमा नेपाल सेमिफाइनल पुग्ने छ । खेल रद्द भएको खण्डमा नेपालको ५ अंक हुनेछ ।
यस्तो अवस्थामा साउदी र ओमानबीचको लिगको अन्तिम खेल क्वार्टरफाइनल सरह हुनेछ र जो जितेमा उही सेमिफाइनल पुग्ने छ । नेपालसँगको खेल हुन नसकेमा साउदीको ३ अंक हुनेछ भने ओमानको ४ अंक रहेको छ ।
साउदीले पछिल्लो खेलमा कतारलाई ७ विकेटले स्तब्ध पारेको थियो । नेपालसँग पराजित ओमानले कतार र मलेसियालाई पराजित गरेको थियो । नेपालले अन्तिम खेल कतारसँग खेल्ने छ र यो खेल जितेमा समूह विजेता भएर सेमिफाइनल पुग्ने छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण हुन सकेको छैन । अपडेट नेपाल र साउदी अरेबियाबीच एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार हुने खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय खेल निरन्तर वर्षाका कारण रद्द भएपछि नेपाल सेमिफाइनल पुगेको छ ।
अघिल्लो दिनको साँझ वर्षाका कारण मैदान भिजेको कारण दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको थियो । बिहान ११ बजे देखि पुनः वर्षा भएपछि खेल रद्द हुन पुगेको थियो । दिउँसो १२.३० बजे दुवै टोलीका खेलाडीले हात मिलाउँदै अंक बाँडेका छन् ।
दिउँसो २.१५ बजेपछि पनि खेल हुने सम्भावना नरहेमा खेल नहुने आधिकारिक घोषणा गरिने समय राखिएको थियो । खेल हुने कुनै सम्भावना नै नरहेपछि म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले त्यसको झन्डै २ घन्टा अघि नै खेल रद्द भएको घोषणा गरेका छन् ।
प्रतिक्रिया