२४ असार, काठमाडौँ । नेकपा एमालको जारी विवाद अन्त्य भएको छ । विगत पाँच महिनादेखि जारी विवाद समाधान भएको हो । अध्यक्ष केपी शर्मा ओलीको विरूद्धमा विपक्षीसँग मिलेर आन्दोलन चलाइरहनुभएका वरिष्ठ नेता माधवकुमार नेपालले गठबन्धन छाडेर पार्टीको मोर्चामा सहभागी भएपछि जारी विवाद अन्त्य भएको छ ।

केही प्राविधिक विषयमा भाषा मिलाएर आजै राति वा भोलिसम्म एमाले एक भएको घोषणा गरिने विवाद समाधानका लागि गठन गरिएको कार्यदलका एक जना सदस्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एमालेभित्रको लामो र डर लाग्दो विवाद हामीले अन्त्य गरेका छौँ । सहमतिको प्रारूप पनि तयार भैसकेको छ । अध्यक्ष र वरिष्ठ नेतासँग समझदारी गरेर आजै वा भोलि घोषणा गरिनेछ ।’

यसअघि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका बीचमा बुधबार साँझ दुई घण्टा वार्ता भएको थियो । उक्त वार्तामा दुबै नेता एमाले एकतावद्ध बनाएर अघि बढाउन तयार हुनुभएको थियो । बैठकपछि प्रतिक्रिया दिनेक्रममा एमाले नेता सुरेन्द्र पाण्डेले बिहीबार सहमतिको घोषणा हुने बताउनुभएको थियो । बिहीबार दिउँसो सिंहदरबारमा बसेको विवाद समाधान कार्यादलको बैठकमा एमाले नेता सुवास नेम्वाङले पनि एमाले एकता बनाउने कुरा मुल भएकोले आजै साँझसम्ममा सहमतिको घोषणा हुने बताउनुभयो ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आजै साँझ ७ बजे फेरि कार्यदलको बैठक बसेर सहमतिको बुँदा अनुमोदन गर्ने र त्यसपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आजै राति वा भोलिसम्मा संयुक्त विज्ञप्ति जारी गरी एमाले एक भएको सन्देश दिनुहुनेछ । अहिले कार्यदलका सदस्यहरु सहमतिको अन्तिम खाका तयारीमा व्यस्त रहेका छन ।