नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले तत्कालीन चिनियाँ सम्राटको हातबाट चिनिँया जातको चियाको बीउ उपहार पाएका थिए । सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका जेठा ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको मानिन्छ । त्यो त्यही दशक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो । थापाले चियाको बिजारोपण सुरु गरेपछि अहिलेको स्थितिमा यो राष्ट्रिय आयको साधन बनेको छ ।

तर, जहाँनिया राणाशासनको अगाडि नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन् । उता दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो ।

वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो। फलस्वरूप वि.सं. २०१६सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो ।यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो ।

वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गर्यो । विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो ।चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्यो ।

चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।
नेपालमा हरेक बैशाख १५ गते चिया दिवस मनाइन्छ भने कफि दिवस चाँही हरेक मंसिर १ गते ।Source:old photo nepal