काठमाडौ–लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ ।

गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड संक्रमणको संख्या बढेपछि पुस्तक सार्वजनिक भएको थिएन ।

असार १ देखि सरकारले बिहान ११ बजेसम्म पुस्तक पसल सञ्चालन गर्न दिने निर्णय गरेपछि प्रकाशक फाइन प्रिन्टले ‘जियरा’ बजारमा ल्याएको हो । यस संग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ वटा लामा कथा समावेश छन् ।

‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु । त्यसमा म कति सफल भएँ, त्यो जान्न म व्यग्र प्रतीक्षामा छु ।’